Political Hightlights

नेकपाले तीन महत्वपूर्ण विभाग र आयोगको नेतृत्व टुंग्यायो

हिमालय टिभी
२०७६ साउन ४ गते ६:३९
नेकपाले तीन महत्वपूर्ण विभाग र आयोगको नेतृत्व टुंग्यायो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको महत्वपूर्ण तीन विभाग र तीन आयोगको नेतृत्व टुंगिएको छ ।

तत्कालिन एमालेको भागमा परेको संगठन, नीति अध्ययन प्रतिष्ठान र विदेश विभागको नेतृत्वमा शीर्ष नेताहरुबीच सहमति भएको छ।

बिहीबार र शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा तत्कालिन एमालेका शीर्ष नेताहरुबीच भएको छलफलले तीन विभागको नेतृत्व टुंगो लगाएको हो ।

सहमतिअनुसार वरिष्ठ नेता माधवकुमार नेपालले विदेश विभागको नेतृत्व गर्नुहुने भएको छ । नीति अध्ययन प्रतिष्ठानको नेतृत्व वरिष्ठ नेता झलनाथ खनालले गर्ने सहमति भएको छ । नेता बामदेव गौतमलाई संगठन विभागको महत्वपूर्ण जिम्मेवारी दिन पार्टी अध्यक्ष केपी शर्मा ओली सहमत भएसँगै महत्वपूर्ण तीन विभागको जिम्मेवारी बाँडफाँट टुंगिएको हो ।

तत्कालिन एमालेभित्र ओली गुटका भनेर चिनिने नेता इश्वर पोख्रेलले पनि संगठन विभागको दावी गर्नु भएको थियो । यस्तै तत्कालिन माओवादीका नेता रामबहादुर थापा बादलले पनि संगठन विभागमा दावी गर्नुभएको थियो ।

पूर्वएमालेको भागमा परेको स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेलाई दिने अध्यक्ष ओलीको तयारी छ । तर पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठले पनि स्कुल विभागमा दावी गर्नुभएको छ ।

त्यस्तै लेखापरीक्षण आयोगको नेतृत्व डा. पुष्प कँडेल र अनुशासन आयोगको नेतृत्व अमृत बोहरालाई दिने सहमति पूर्वएमालेका नेताबीच भएको छ ।

पूर्वमाओवादीको भागमा परेको निर्वाचन आयोगको नेतृत्व अमिक शेरचनले गर्नुहुनेछ ।नेकपाका ३२ विभागमध्ये पूर्वएमाले १८ र पूर्वमाओवादीले १४ विभाग लिने समझदारी यसअघि नै भइसकेको छ । नेताहरुबीच भएको सहमति शनिबार बस्ने सचिवालय बैठकले अनुमोदन गर्ने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्