यस्तो छ नेकपा एकता प्रक्रियामा भागबण्डा

काठमाडौं । पार्टी एकताको ४ महिनापछि सत्तारुढ दल नेकपाले बाँकी रहेका संगठनात्मक एकताको काम टुंगाउने गरी समझदारी बनेको छ ।
तत्कालीन एमाले र तत्कालीन माओवादीले पाउने प्रतिशत र केही विधि टुंगाए पनि व्यक्तिको नाम भने तोक्न वाँकी छ ।
मंगलबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ७७ मध्ये पूर्वएमाले समूहले ६० र पूर्वमाओवादी समूहले ४० प्रतिशतमा इन्चार्ज लिने सहमति भएको छ ।
जुन पार्टीले इन्चार्ज पाउँछ, त्यहाँ स्वतः साविककै इन्चार्जले जिम्मेवारी पाउनेछन भने अर्को पार्टीका इन्चार्ज सह(इन्चार्ज हुनेछन । यसअघि जिल्ला अध्यक्ष र सचिवको भागबन्डा पनि यही विधि अपनाएर हल गरिएको थियो ।
यसबाहेक ओली र प्रचण्डबीच ३२ मध्ये १८ पूर्वएमाले र १४ विभाग पूर्वमाओवादी समूहले लिने समझदारी बनेको छ । तर, विभागको नेतृत्व टुंगाउन बाँकी छ ।
संगठन, स्कुल र प्रचार विभागको नेतृत्वमा शीर्ष नेताकै दावी छ । संगठन विभागमा रामबहादुर थापा बादल र बामदेव गौतमको दावी छ । स्कुल विभागको नेतृत्वमा ईश्वर पोखरल र नारायणकाजी श्रेष्ठले आंकाक्षा राखेका छन् ।
दुई अध्यक्षबीचको सहमतिमा वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि परामर्श गर्ने र सचिवालय बैठकबाट अन्तिम निर्णय गर्ने तयारी छ । साउन ५ मा सचिवालय बैठक बोलाउने दुई अध्यक्षको तयारी छ ।
प्रतिक्रिया