एउटा यस्तो विद्यालय जहाँ पञ्चे बाजा बजाउन सिकाइन्छ (भिडियो रिपोर्टसहित)

१९ पुस २०७८ धादिङ । विवाह र शुभकार्यमा बजाइने पञ्चेबाजा लोप हुने अवस्थामा पुगेको छ । पञ्चेबाजा बजाउने जनशक्तिको अभाव र जातविशेषसँग जोड्ने सोचका कारण पञ्चेबाजा नै लोप हुने खतरा भएको हो ।
धादिङको निकलण्ठ माध्यामिक विद्यालयले भने पञ्चेबाजा संरक्षणका लागि विद्यार्थीलाई पञ्चेबाजा बजाउन सिकाउन थालेको छ ।
विद्यार्थीहरु पञ्चेबाजा बजाउँदै गरेको यो दृश्य धादिङबेशीस्थित निकलण्ठ माध्यामिक विद्यालयको हो । यहाँका विद्यार्थीले पढाइका अतिरिक्त सीप सिक्नका लागि दैनिक यसैगरी पञ्चेबाजा बजाउने गर्छन् ।
कुनै जात विशेषले मात्र नभएर हरेक जातजातिका विद्यार्थीले पञ्चेबाजा बजाउन सिकिरहेका छन् । पञ्चेबाजा बजाउन सिक्दा आफूहरुलाई रमाइलो लागे पनि परिवारबाट भने प्रोत्साहन नपाएको विद्यार्थीको गुनासो छ ।
धादिङको नमूना विद्यालयसमेत रहेको निलकण्ठ माविले वार्षिक शैक्षिक कार्यक्रम अन्तर्गत यही महिनादेखि विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पञ्चेबाजा सिकाउन सुरु गरेको हो ।
विद्यार्थीलाई स्थानीय दलबहादुर परियारले पञ्चेबाजा बजाउन सिकाइरहनु भएको छ ।
दुई हप्तामै विद्यार्थीले सार्वजनिक समारोहमा बजाउन सक्ने गरी पञ्चेबाजा बजाउन सिकिसकेका छन् । आफ्नो मौलिक पहिचान बचाइराख्न निलकण्ठ विद्यालयले अतिरिक्त सीपका रुपमा पञ्चेबाजा रोजेको हो ।
प्रतिक्रिया