समाज

सरकारी विकास र भूमाफियाको अतिक्रमणको चपेटा थारु समुदायको ग्रामथान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ३ गते १७:०७
सरकारी विकास र भूमाफियाको अतिक्रमणको चपेटा थारु समुदायको ग्रामथान (भिडियो रिपोर्टसहित)

३ असोज २०७८ सुनसरी । तराईका थारु समुदायको मुख्य धार्मिकस्थलको रुपमा रहेका ग्रामथान सरकारी विकास र भूमाफियाको अतिक्रमणको चपेटामा पर्दै गएका छन् । सम्बन्धित निकायले ध्यान नदिँदा सुनसरीका ६० प्रतिशत् ग्रामथान अतिक्रमणको चपेटमा परेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

तराईका आदिवासीका रुपमा परिचय बनाएका थारु समुदायको धार्मिकस्थल ग्रामथान अतिक्रमणको चपेटामा परेका छन् । प्रदेश १ मा विशेषत झापा, मोरङ र सुनसरीमा अधिक मात्रामा थारु समुदायको बसोबास छ ।

थारु समुदायको जन्मदेखि मृत्युपर्यन्तसम्मका कार्य ग्रामथानमै गर्ने प्रचलन छ । तर पछिल्लो समय तीन तहको सरकारले गर्ने विकास व्यवस्थित नहुँदा ग्रामथान मासिँदै गएको स्थानीय बासिन्दा बताउँछन् ।

सुनसरीमा ५ सयको हाराहारीमा ग्रामथान रहेको सरोकारवाला बताउँछन् । सरकारी विकासले मात्रै होइन, ग्रामथान सरकारी खाली जग्गा वा ऐलानी जग्गामा हुने हुँदा अहिले भूमाफियालेसमेत आँखा लगाउन थालेपछि यस्ता क्षेत्र संकटमा पर्दै जान थालेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय धार्मिक तथा सांस्कृतिकस्थलको संरक्षण स्थानीय सरकारले गर्ने भनि किटान गरिए पनि जनप्रतिनिधि उदासिन बन्दा संरक्षणमा झन समस्या भएको संरक्षकहरु बताउँछन् । स्थानीय सरकारले आवश्यक मात्रामा यसमा ध्यान नदिँदा सुनसरीमा मात्रै ६० प्रतिशत् भन्दा बढी ग्रामथान अतिक्रमणको चपेटामा परेका छन् ।

तर स्थानीय सरकारले भने सकेसम्म त्यस्ता क्षेत्रको संरक्षण र संवद्र्धन गर्दै आएको दावि गरेका छन् । ग्रामथानको क्षेत्रधिकार निर्क्यौल गर्ने, जीर्ण भएकाको पुनर्निर्माण गर्ने र त्यसलाई संरक्षण गर्ने काममा आफूहरु लागिरहेको जनप्रतिनिधिको भनाइ छ ।

थारु समुदायले विशेषगरि वर्षमा दुई पटक ग्रामथानमा पूजा गरि आर्शिवाद लिने परम्परा छ । थारु समुदायको उत्पति र संस्कृतिसँग प्रत्यक्ष सम्बन्ध जोडिएका यस्ता क्षेत्रको संरक्षणमा सरकारले आवश्यक ध्यान नदिए अस्तित्व नष्ट हुने निश्चित छ । त्यसैले यसको संरक्षणमा सम्पूर्ण सरोकारवालको ध्यान जाओस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *