आईपीएल क्रिकेटका बाँकी खेल अनिश्चितकालका लागि स्थगित

२१ वैशाख २०७८ चेन्नई । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को यस सिजनका बाँकी खेल अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
आईपीएलका प्रमुख ब्रिजेश पटेलले खेलाडी र स्टाफको स्वास्थ्यलाई ध्यानमा राख्दै बाँकी खेल स्थगित गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
आईपीएल र भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को आकस्मिक बैठकले प्रतियोगिता तत्काल रोक्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।
बीसीसीआईले प्रतियोगितामा सहभागी खेलाडी, स्टाफ लगायत कसैको पनि स्वास्थ्यमा कुनै सम्झौता गर्न नसकिने भन्दै खेल रोक्ने निर्णय गरेको जनाएको छ ।
पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्र गतिमा भइरहँदा सहभागी टोलीका खेलाडी पनि संक्रमित हुन थालेका थिए ।
कोलकाताको क्याम्पमा रहेका स्पिनर बरुण चक्रवर्ती र सन्दीप वारियरमा संक्रमण देखिएपछि हिजोको खेल स्थगित भएको थियो ।
चेन्नई सुपर किङस्, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादको टोलीमा कोरोना संक्रमण पाइएको छ । प्रतियोगितामा २९ खेल सकिँदा दिल्ली तालिकाको शीर्षस्थानमा छ ।
प्रतिक्रिया