आर्थिक

अब मलको अभाव नहुने किसानको आशा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २० गते ६:१७
अब मलको अभाव नहुने किसानको आशा (भिडियो रिपोर्टसहित)

२० फागुन २०७७ काठमाडौं । अन्न भण्डारका रुपमा रहेका बाँके र बर्दियाका किसानले यो वर्ष पनि धान र गहुँको सिजनमा रासायनिक मल पाएनन । धान खेतीका लागि असार साउन र गहुँ तथा तोरी खेतीका लागि कात्तिकमा किसानलाई मल चाहिएको थियो । तर त्यतिबेला देशै भरी मलको अभाव भयो । तर अहिले भने पर्याप्त मात्रामा मल आएको छ । गोदाम भरिएकाले आगामी दिनमा मलको अभाव नहुने आशा किसानमा जागेको छ ।

यो नेपालगञ्जको बालमन्दिरमा रहेको कृषि सामग्री कम्पनीको गोदाम हो । सधैं खाली हुने यो गोदाम अहिले भने रसायनिक मलले भरिएको छ । त्यसैले कृषि सामग्री कम्पनीका कर्मचारी मात्रै नभएर कार्यालयमा पुगेका किसान पनि निक्कै उत्साहित र मख्ख छन । अहिले कम्पनीको गोदाममा करिब १३ सय टन मल स्टक छ । माघको १५ गते पछि दिनहुँ जसो भैरहवाबाट २(३ ट्रक मल आइ रहेको छ ।

आफ्नो गोदाम भरिए पछि कृषि सामाग्री कम्पनीले भाडामा घर लिएर मल राखि रहेको छ ।

कम्पनीले सहकारी संस्थालाई पनि मागे जति रसायनिक मल दिन थालेको छ ।

तर किसान र सहकारीसँग पैसा नभएका कारण उनीहरुले मल लगेर भण्डारण गर्न सकिरहेका छैनन् ।

धान र गहुँको सिजनमा मलको हाहाकार भए पनि पछिल्ला दिनमा युरिया र डिएपी मल पर्याप्त मात्रामा आइ रहेको छ । धानका लागि किसानले बैशाख देखि मलको जोहो गर्न सुरु गर्छन । अहिले आएको मल आगामी बर्ष धानको सिजनमा बितरण गर्ने कम्पनीको तयारी छ ।

कृषि विकास मन्त्रालयका अनुसार देशमा वार्षिक ७ लाख मेट्रिक टन रसायनिक मलको माग छ । स्वदेशमै उत्पादन नहुने भएकाले सरकारले मल आयात र वितरणको जिम्मा कृषि सामग्री र साल्ट्र ट्रेडिङ कम्पनीलाई दिँदै आएको छ ।

असारदेखि भदौमा मात्र १ लाख मेट्रिक टन युरिया, ४५ हजार मेट्रिक टन डिएपी र ७ हजार मेट्रिक टन पोटास मलको माग हुन्छ । तर माग अनुसार मल नआउँदा देश भर नै सधैं समस्या हुने गरेको छ । तर अहिले भने पर्याप्त मात्रामा मल आएकाले बाँके बर्दियाका किसान खुसी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *