हुम्लाको लिमीवासीले निर्वाचनअघि नै चुने वडाध्यक्ष र सदस्य

हिमालय टिभी
२०७८ चैत ६ गते १३:४२
हुम्लाको लिमीवासीले निर्वाचनअघि नै चुने वडाध्यक्ष र सदस्य

६ चैत २०७८ सिमकोट । हुम्लाको नाम्खा गाउँपालिकाको लिमीवासीले निर्वाचन अगाडि नै वडाध्यक्ष र सदस्यहरु चुनेका छन् ।

चीनसँग सीमा जोडिएको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका जाङ, हल्जी र तिल गाउँका बासिन्दाको भेलाले वडाध्यक्ष र सदस्यहरु चुनेका हुन् । वडाध्यक्षमा पाल्जोर तामाङ नै दोहोरिएका छन् । उहाँ नेपाली कांग्रेसका हुन् । त्यस्तै सदस्यमा जाङकी पुटी तामाङ, हल्जीकी छिरिङ टुङडुप र तिलका टुङडुप लामा चयन भएको स्थानीयवासी कुन्जोक तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार अब औपचारिकता पूरा गर्नका लागि आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उहाँहरुको मात्रै मनोनयन दर्ता हुनेछ र उहाँहरुलाई नै निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ । “गाउँलेहरुको भेलाले वडाध्यक्ष र सदस्य चुने र अब त्यसलाई प्रक्रिया पु¥याएर औपचारिकता दिन बाँकी छ”, उहाँले भन्नुभयो, “अघिल्लो स्थानीय तह निर्वाचनताका पनि त्यस्तै भएको थियो ।”

५४१ मतदाता
नाम्खा गाउँपालिका–६ का तीन गाउँमा तीनवटा मतदान केन्द्र रहेका छन् । तीमध्ये सुनखानी आधारभूत विद्यालय हल्जीमा २२६, भृकुटी प्राथमिक विद्यालय जाङको मतदान केन्द्रमा २०५ र हिमशिखर प्राथमिक विद्यालय तिलमा ११० गरेर कूल ५४१ म्तदाता सङ्ख्या छ ।

वर्सेनि बैठक मङ्सिरमा
हरेक वर्ष लिमी गाउँका नागरिकको बैठक मङ्सिरमा बसेर महत्वपूर्ण निर्णय गर्दै आएका छन् । मङ्सिरको अन्तिममा महत्वपूर्ण निर्णय लिनका लागि तीन गाउँको संयुक्त बैठक बस्छ । यो पटकको बैठकको एकमात्रै एजेण्डा आगामी निर्वाचनका लागि उम्मेदवार चयन गर्नु थियो ।

गाउँलेहरुको भेलाले दोस्रो कार्यकालका लागि लामालाई सर्वसम्मत् वडाध्यक्ष चयन गरेका छन् । त्यहाँका स्थानीयवासीको आफ्नै नीतिनियम छ । तीन गाउँको भेलाले गरेको निर्णयविपरीत यहाँ कोही जाँदैनन् । स्थानीयवासीका अनुसार गाउँलेले चुनेको अध्यक्ष फरक हुन्छ भने सरकारी कामकाज र प्रक्रियाका लागि छुट्टै अध्यक्ष चयन हुन्छ । सरकारी कामकाजका लागि चुनिने अध्यक्ष पनि गाउँले चुनेको अध्यक्षको निर्देशनानुसार चल्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *