आर्थिक

जहाज थपेर व्यवसाय विस्तार गर्दै हवाई सेवा प्रदायक कम्पनी

हिमालय टिभी
२०७८ चैत ५ गते १६:५७
जहाज थपेर व्यवसाय विस्तार गर्दै हवाई सेवा प्रदायक कम्पनी

५ चैत २०७८ काठमाडौं । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले जहाज थपेर व्यवसाय विस्तारमा जुटेको छ ।

बुद्ध एयरले थप एटिआर–७२ (७२ सिटे) जहाज भित्र्याएर आक्रामकरुपमा बजार विस्तारमा लागेको हो । बुद्ध एयरले हालै थप एक थान एटिआर ७२ जहाज भित्र्याएको छ । योसँगै कम्पनीसँग अब ११ वटा एटिआर–७२, तीनवटा एटिआर–४२ र दुई वटाबीच क्राफ्टसहित १६ जहाज छन् । थप चार जहाज आउने प्रक्रियामा रहेको र करिब चार महिनाको अन्तरालभित्रै ती जहाज नेपाल आइपुग्नेछन् ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जहाज थपेर बजार विस्तार गर्न कम्पनी लागि परेको बताउनुभयो । उहाँका अनुसार देशको भौगोलिक अवस्था र जनजीवनलाई सहज तुल्याउन कम्पनीले बजार विस्तारको रणनीति लिएको जनाइएको छ ।

आफ्नो २४ वर्षे यात्राको आरोह अवरोहलाई छिचोल्दै बुद्ध एयरले आन्तरिक उडानमा एटिआर जहाजमार्फत गुणस्तरीय सेवा प्रदानका साथै पर्यटन विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको कम्पनीले उल्लेख गरेको छ । सन् १९९७ अक्टोवर ११ मा बुद्ध एयरले पहिलो उडान गरेको थियो । यसले उडानकै शुरुवातमा अमेरिकाबाट ब्राण्ड न्यू जहाज बीचक्राफ्ट १९०० डी भित्र्याएको थियो ।

बुद्ध एयरले हाल दैनिक करिब नौ हजार यात्रुलाई सेवा दिइरहेको छ । कम्पनीले दैनिक १५० हाराहारी उडान गरिरहेको छ । आन्तरिक हवाई यात्रुले भरिभराउ छ अर्थात झण्डै ९० प्रतिशत आन्तरिक हवाईयात्रुले जहाज भरिने गरेको कम्पनीका सूचना अधिकारी कर्णले बताउनुभयो । उहाँले कोभिड पूर्वकै अवस्थामा कम्पनीको आन्तरिक उडान भइरहेको उल्लेख गर्नुभयो । कोभिड–१९ महामारी घटेर सहज वातावरण बनेपछि अहिले भारतीय नागरिक पनि आउन थालेकाले पर्यटन बजार फष्टाउने अपेक्षा उहाँको छ ।

पोखरालाई हब बनाएर उडान
बुद्ध एयरले पोखरा विमानस्थललाई हब बनाएर सबै सुगम गन्तव्यका सहर जोड्ने योजना बनाएको छ । जसअनुरुप बुद्धले हाल पोखराबाट छ सहरलाई जोडिसकेको छ । पोखराबाट जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगञ्ज र धनगढी गन्तव्यमा उडान गरिरहेको कम्पनीले जनाएको छ ।

वनारसमा पुनः उडान
बुद्ध एयरले काठमाडौँ–बनारस गन्तव्यमा पुनः सिधा उडान गर्ने तयारी गरेको छ । आगामी चैत १८ (अप्रिल १ तारिख) देखि काठमाडौँ–वनारसमा सिधा उडान गर्ने कम्पनीले जनाएको छ । उक्त गन्तव्यमा कोभिड महामारीका कारण उडान स्थगित भएको थियो । “हामी (बुद्ध एयर) वनारस उडानका लागि तयारी अवस्थामा छौँ, अप्रिलदेखि उडान पुनःसञ्चालन गर्नेगरी आवश्यक प्रक्रियामा छौँ”, सूचना अधिकारी कर्णले भन्नुभयो ।

कम्पनीले सातामा कति उडान, कुन–कुन बार गर्ने भन्ने टुङ्गो लगाइसकेको छैन । धार्मिक पर्यटनका दृष्टिकोणले भारतको बनारस महत्वपूर्ण मानिन्छ । काठमाडौँदेखि वनारसलाई धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बुद्धले उडान गरिरहेको थियो ।

बुद्ध एअरपछि निजी क्षेत्रको अर्को हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले पनि जहाज थपेर बजार विस्तारमा आक्रामक रणनीति लिएको छ । कम्पनीले दुई महिनाअघि ८० सिट क्षमताको क्यू ४००–८ जहाज थपेको थियो । कम्पनीले हाल आठ वटा जहाजले सेवा दिइरहेको छ । श्रीले यसअघि आन्तरिक उडान माड्यास क्यू ४०० दुईवटा तथा सीआरजे २०० (५० सिटे) दुई वटा र सिआरजे ७०० (७० सिटे) दुई थान जहाजमार्फत उडान सेवा सञ्चालन गर्दै आएको छ ।

अर्को प्रतिस्पर्धी यती एयरलाइन्सले पनि पाँच जहाजमार्फत सेवा दिइरहेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट १० हेलिकोप्टर कम्पनीसहित १९ हवाई सेवा प्रदायक कम्पनीले उडान सेवा दिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *