आर्थिक

फार्ममा गाईको घाँटीमा दाम्लोको ठाउँमा किन बेल्ट (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २८ गते १८:३८
फार्ममा गाईको घाँटीमा दाम्लोको ठाउँमा किन बेल्ट (भिडियो रिपोर्टसहित)

२८ फागुन २०७८ बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ६ गोदावरमा रहेको एक पशु फार्ममा गाईको घाँटीमा दाम्लो होइन बेल्ट झुण्डाइएको छ । बेल्टको माध्यमबाट गाईलाई रोग लागे नलागेको थाहा हुन्छ । बेल्टले कसरी काम गर्छ र किसानलाई के फाइदा हुन्छ त ?

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ६ गोदावरमा रहेको पशु फर्म । गाइभैँसीलाई दाम्लोले बाँधेर राख्ने हाम्रो परम्परा छ । तर यहाँ गाईभैँसीको घाँटीमा बेल्ट अर्थात अल्फा ट्याग सेन्सर बाँधिएको छ । आनन्द फुड्स एण्ड एग्रो इण्ड्रष्ट्रिज प्रालिले यसरी बेल्ट बाँध्न थालेको ६ महिना भयो । यो प्रविधिले गाईलाई रोग लागेको वा नलागेको पत्ता लगाउन मद्दत गर्दछ ।

प्रविनकुमार यादव र मनोजकुमार यादवले २ वर्ष भयो गाईपालन शुरु गरेको । व्यवसायको सुरुवाती महिनामा नै गाईमा देखिएको रोगका कारण ठूलो नोक्सानी व्यहोर्नु पर्यो । त्यही समयमा इजरायलबाट अल्फा ट्याग सेन्सर बेल्ट प्रविधि नेपाल भित्रियो ।

यसको प्रयोगले आहार खाए नखाएको, तापक्रम, गर्भधारणको समय, थुनेलो भए नभएको सजिलै पत्ता लगाउन सकिन्छ । यसले गाईको उपचारमा सहयोग त पुगेको छ नै सँगै उत्पादन पनि बढेको छ ।

सेन्सर बेल्टले एन्टिनाको माध्यमबाट कम्प्युटरमा गाईको अवस्थाको जानकारी दिन्छ। यसको निरीक्षण र गाईको उपचारका लागि एक जना भेटेनरी डाक्टरलाई समेत रोजगारी दिनु भएको छ।

१ विघा १ कट्टा १ धुर जग्गामा संरचना निर्माण गरि फार्म संचालन गरिएको छ भने २० विघा जग्गामा घाँस खेती गरिएको छ। आनन्द फुड्स एण्ड एग्रो इण्ड्रष्ट्रिज प्रालिमा १ सय ६५ वटा होलस्टेन जातको गाई छन् । त्यसमध्ये ५६ वटा दुहुने गाईबाट दैनिक रुपमा ९ सय ६० लिटर दुध उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *