राजनीति

प्रचण्डको दाबी र पार्टीको अवस्था (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २७ गते २१:१२
प्रचण्डको दाबी र पार्टीको अवस्था (भिडियो रिपोर्टसहित)

२७ फागुन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी रहेको बताउनु भएकोछ । पटक–पटकको टुटफुटले राष्ट्रिय राजनीतिमा क्षमता गुमाइसकेको ठानिएको माओवादी के साँच्चै प्रचण्डले दाबी गरेजस्तो भूमिकामा छ त ?

हिजो–आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको दाबी पत्यारिलो हुनै छाडेको छ । २०७४ सालको स्थानीय तहमा कांग्रेससँग गठबन्धन गरेर आफूलाई स्थापित गरेका प्रचण्डले त्यसपछिको संघीय र प्रदेश निर्वाचनमा एमालेसँग आफूलाई जोड्नुभयो ।

राजनीतिकरुपमा एकैपटक ठूलो शक्ति बनेको माओवादी अहिले ओरालो झरिसकेको छ । यसको पछिल्लो उदाहरण आफ्नो महाधिवेशनले एमसीसी पारित गर्न नदिने र विपक्षमा मतदान गर्ने निर्णय गरेको माओवादी केन्द्र प्रधानमन्त्री शेरबहादुर देउवाको गठबन्धन तोड्ने धम्कीसँग त्रसित प्रचण्ड झुकेको कतै लुकेको छैन । यसरी अस्तित्व जोगाउनै सहमति र गठबन्धनको खोजी गरिरहेका प्रचण्डले आफ्नो पार्टी निर्णायक तहमै रहेको दाबी गर्नुभएको छ ।

१० वर्ष लामो सशस्त्र संघर्षबाट विस्तृत शान्ति सम्झौता हुँदै शान्तिपूर्ण राजनीतिमा आउँदा तत्कालिन नेकपा माओवादीको राप ताप राष्ट्रिय राजनीतिमा निर्णायक नै थियो । २०६४ को निर्वाचनमा पहिलो पार्टी बन्न सफल माओवादीबाट मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्दजस्ता नेताहरु बहिरिएपछि माओवादीको शक्ति क्षयिकरण हुन थाल्यो ।

अहिले प्रतिनिधिसभामा ४८ सिटसहित तेस्रो दलको हैसियतमा माओवादी छ । एमालेसँग एकता गर्दै प्रचण्डले राष्ट्रिय राजनीतिमा आफूलाई केन्द्रमा उभ्याउन खोज्नुभयो तर, परिस्थितिबस पुनः माओवादी केन्द्र व्यूँतियो । एमालेका नेताहरु समेत तानेर ठूलो पार्टी बनाउने दाउमा देखिएका प्रचण्डले उल्दै आफ्ना प्रभावशाली नेताहरु एमालेमै छोडेर आउनुपर्यो ।

राजनीतिका जानकारहरु भने प्रचण्डले भनेजस्तो अहिले राष्ट्रिय राजनीतिमा माओवादीको भूमिका निर्णायक रहेको ठान्दैनन् । कांग्रेसभित्र सत्तागठबन्धन कायम गर्न नहुने मत आउँदा प्रचण्ड झस्किनु र एमसीसीमा लतारिएर पारित गर्ने पक्षमा उभिनुले प्रचण्डको दाबीलाई खण्डन गर्ने उनीहरुको मत छ । प्रचण्डले स्थानीय निर्वाचन आइसकेकाले कार्यकर्ताको मनोबल बढाउन त्यस्तो अभिव्यक्ति दिएको हुनसक्ने राजनीतिक विश्लेषक बताउँछन् ।

नेपालको राजनीतिमा कुनै बेला नाम जस्तै प्रचण्ड प्रभाव राख्ने प्रचण्ड विस्तारै कमजोर बन्दै गएको देखिन्छ । गठबन्धनको आड नलिए पार्टी निर्वाचनमा कमजोर परिणाम आउने डरले प्रचण्ड आक्रान्त देखिनुहुन्छ । तर, आफूभित्रको कमजोरी नदेखाउने र बाहिर आत्मविश्वासी प्रस्तुत गर्नु प्रचण्डको विशेष क्षमता हो । तर, पछिल्लो समय नेपालको राजनीतिमा प्रचण्ड अस्थिरताको विम्बका रुपमा समेत चिनिनुहुन्छ ।

निर्वाचनको संघारमा सबै दलले आफुलाई बलियो देखाउने प्रयास गर्नु सामान्य हो । राष्ट्रिय राजनीतिमा कांग्रेस र एमाले निर्णायक शक्तिका रुपमा रहिरहेका बेला प्रचण्डले दाबा गरेजस्तो निर्णायक हैसियत बनाउन आउँदो चुनाव प्रचण्डका लागि महतवपूर्ण बन्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्