आर्थिक

मुलुकको अर्थतन्त्रमा अर्को संकट (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २७ गते २०:५९
मुलुकको अर्थतन्त्रमा अर्को संकट (भिडियो रिपोर्टसहित)

२७ फागुन २०७८ काठमाडौं । विदेशी मुद्राको सञ्चिती घटेपछि नेपाल राष्ट्र बैंकले अत्यावश्यक वस्तुको समेत आयातमा कडाइ गरेको बेला सरकारले भने सुपारी, मरिच र केराउको आयात खुला गरेको छ ।

भारततर्फ तस्करी हुने यी वस्तु तेस्रो मुलुकबाट आयात गर्दा सञ्चित रहेको विदेशी मुद्रा ठूलो परिणाममा विदेशिने छ । यसले मुलुकको अर्थतन्त्रमा अर्को संकट ल्याउने भन्दै जानकारले यो निर्णयलाई नीतिगत भ्राष्टाचारको रुपमा औंल्याएका छन् ।

चालू आर्थिक वर्षको ७ महिनामा मुलुकको विदेशी मुद्रा सञ्चिति अमेरिकी डलरमा १७ प्रतिशतले घटेर ९ अर्ब ७५ करोड कायम भएको छ । गतअसार मसान्तमा यस्तो सञ्चिति ११ अर्ब ७५ करोड अमेरिकी डलर रहेको थियो ।

सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले ४७ समूहको १२ सयभन्दा बढी वस्तु तथा सेवाको आयातमा कडाई गरेको बेला सरकारले भने भारततर्फ तस्करी सुपारी, मरिच र केराउको औद्योगिक प्रयोजनका लागि भन्दै आयात खुलाएको छ। यी वस्तुहरुको निकासीमा अर्बौ चलखेल हुने भएकाले सरकारले सीमित व्यापारीको सेटिङमा आयात खुला गरेको जानकार बताउँछन् ।

नेपालमा करिब १० हजार मेट्रिक टन सुपारी खपत हुने अनुमान छ। स्वदेशमा करिब ९ हजार सुपारी उत्पादन हुन्छ। विदेशबाट आयात भएको करिब ५ हजार टन यहाँ प्रयोग भए पनि २० हजार मेट्रिक टन भारततर्फ जाने छ । नेपालबाट भारत सुपारी निर्यात गर्दा शून्य भन्सार भएकाले त्यसकै फाइदा उठाउँदै केही व्यापारीले विदेशबाट आयात गरेर नेपालमा उत्पादन भएको भन्दै भारत पठाउने गरेका छन् ।

बाह्य क्षेत्रमा परेको चाप कम गर्नकै लागि राष्ट्र बैंकले चरणबद्ध रूपमा नीतिगत कडाइ गर्दा अहिले नै बजारमा केही बस्तुहरुको अभाव हुनुका साथै महंगी समेत बढेको छ ।

चालू आर्थिक वर्षको सुरुवातदेखि नै अर्थतन्त्रका अधिकांश सूचकहरु निरन्तर नकारात्मक बन्दै गएको छ । सुधारका लागि सरकार र राष्ट्र बैंकले विभिन्न पहल गर्दा पनि परिणाम आउन सकेको छैन् । यो अवस्थामा तस्कारी हुने सुपारी, मरिच र केराउको आयात खुला गरिदा अर्थतन्त्रमा थप समस्या निम्तने जानकारहरुको तर्क छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *