आर्थिक

पर्यटन क्षेत्रमा उत्साह : नेपाल आउने पर्यटकको संख्या बढ्यो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २५ गते १४:३६
पर्यटन क्षेत्रमा उत्साह : नेपाल आउने पर्यटकको संख्या बढ्यो (भिडियो रिपोर्टसहित)

२५ फागुन २०७८ काठमाडौं । कोरोना संक्रमण दर घट्दै जाँदा नेपालमा आउने विदेशी पर्यटकको संख्या पनि बढ्न थालेको छ । गत वर्षको तुलनामा सन् २०२२ को पहिलो तीन महिनामा दोब्बरले पर्यटक नेपाल भित्रिएको तथ्यांक छ । यसले धराशायी बनेको पर्यटन व्यवसायमा उत्साह थपेको छ ।

कोभिड—१९ महामारीका कारण लामो समयको लकडाउनले सबैभन्दा बढी पर्यटन व्यवसाय प्रभावित बन्यो । पछिल्लो समय संक्रमण दर घट्दै जाँदा नेपालमा विदेशी पर्यटकको चहलपहल बढेको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्न थालेको छ ।

सरकारले गत साता नै संक्रमण फैलिन नदिन लगाएका प्रतिबन्धात्मक व्यवस्था हटाएपछि पर्यटक आगमन बढेको हो । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागका प्रमुख पुष्पराज शाहीले २०२१ को जुन महिनादेखि हालसम्म नेपाल भित्रिने पर्यटकको संख्या १ लाख ३२ हजार पुगेको जानकारी दिनुभयो । त्यसमध्ये सबैभन्दा बढी भारतबाट र त्यसपछि क्रमशः अमेरिका, बेलायत, बंगलादेशबाट पर्यटक आएका छन् ।

अध्यागमन विभागका अनुसार विदेशी पर्यटक बढेसँगै कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसाय र अर्थतन्त्र विस्तारै तङ्ग्रिन थालेको छ । २०१९ माभन्दा २०२२ को शुरुवातमै दोब्बर पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ ।

बोर्डका अनुसार नेपालमा गत वर्ष मात्र ८ हजार पर्यटक भित्रिएकोमा यो वर्षको पहिलो तीन महिनामै १६ हजार पुगेको छ । विदेशी पर्यटकको आगमन बढेसँगै पर्यटन प्रवर्द्र्नका लागि बोर्डले प्रचार–प्रसार थालेको बोर्डका निर्देशक मणिराज लम्सालले जानकारी दिनुभयो । पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउने रणनीति बनाएको जानकारी बोर्डले दिएको छ ।

सरकारले नेपाल भित्रिने पर्यटकका लागि स्वास्थ्य परीक्षणदेखि क्वारेन्टिनमा बस्नुपर्ने सबै प्रावधान पनि हटाएको छ । अब नेपाल घुम्नका लागि सुरक्षित रहेको सरकारले विश्वास दिलाउन सक्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *