आर्थिक

दोर्दीखोलाले वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन थाल्ने

हिमालय टिभी
२०७८ फागुन २५ गते १३:४७
दोर्दीखोलाले वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन थाल्ने

२५ फागुन २०७८ लमजुङ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा यहाँ निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजनाले आगामी वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन थाल्ने भएको छ ।

जिल्लाको दोर्दी खोलामा निर्माणाधीन २७ मेगावाट क्षमताको सो आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र आगामी चैत महिनाभित्रमा परीक्षण गरेर वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन गर्ने आयोजना प्रमुख मुना शाक्याले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले आयोजनाको निर्माण सम्पन्न गर्दै एक महिनाको लामो परीक्षण गरिसकेका छौँ ।” यसबीचमा साना–साना समस्या रहेको र गत असारमा आएको बाढीले क्षति बनाएको बाँधस्थल लगायतका क्षेत्रमा पर्खाल लगाउने र मर्मत गर्ने कार्य भइरहेको उहाँको भनाइ छ । चैत महिनाभित्रमा बाँकी रहेका ती काम सम्पन्न गर्दै अन्तिम परीक्षण गर्ने र प्राविधिकरणले जाँच गरेसँगै वैशाखको पहिलो हप्ताबाट व्यावसायिक रुपमा विद्युत् उत्पादन गर्ने उहाँको भनाइ थियो ।

आयोजनाको शत् प्रतिशत नै निर्माण सम्पन्न भए पनि गत असारमा आएको बाढीले क्षति बनाएको टनेलको सिपेज र बाँधस्थलमा निर्माण गरिएको ‘गेट’को मर्मत भइरहेको छ ।

उहाँका अनुसार इलोट्रो–मेकानिकल, पेनस्टकको इनटेक, फिल्डर पाइपलगायतका काम सम्पन्न भइसकेको छ । उक्त सबैको सफल परीक्षणसमेत भइसकेको छ । त्यस्तै, पाइप विच्छ्याउने, सुरुङ खन्ने लगायतका अधिकांश निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । पनस्टेकको ७०० मिटर, तीन हजार २०० मिटरको सुरुङ खन्ने तथा पाइप विच्छाउने, अर्को दुई हजार २७० मिटरको सुरुङको सम्पूर्ण काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

आयोजनाको बाँधस्थल २१२ मिटर ‘ग्रसहेड’ रहेको छ । बेँसीशहर नगरपालिका वडा नंं ११ रामचोकबेँसीमा पावर हाउस रहेको छ । विसं २०७२ फागुनबाट निर्माण सुरु गरेको यस आयोजनाले विसं २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो ।

नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युत् गृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामानमा पु¥याएको क्षति, कोरोनाका कारण जारी निषेधाज्ञा र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले ढिलाइ हुन पुग्दा निर्धारित समयमा काम सम्पन्न नभएको आयोजनाले जनाएको छ ।

पछि समय थपेर विसं २०७६ चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि विसं २०७६ असारसम्म सक्ने गरी सम्झौता भएको थियो । सो समयमा पनि निर्माण सम्पन्न गर्न नसकेपछि विसं २०७६ पुस महिनामा बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको थियो ।

सो समयमा पनि बिजुली उत्पादन गर्न नसकेपछि विसं २०७७ चैत महिनासम्म बिजुली उत्पादन गर्ने लक्ष्य राखेपनि सम्पन्न भएन । सो पश्चात् आगामी चैत महिनाभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य रहेपनि अगामी वैशाख महिनामा मात्र उत्पादन हुने भएको छ ।

सुरुमा चार अर्ब २३ करोड लाग्ने अनुमानका साथ आयोजनाले निर्माण थालनी गरेपनि निर्माण अवधि लम्बिदै गएकाले चार अर्ब ६४ करोड रुपैयाँसम्म खर्च हुनसक्ने आयोजनाको अनुमान छ । यस आयोजनामा गैरआवसीय नेपाली सङ्घ ९एनआरएनए० को ३५ दशमलव सात प्रतिशत, आइएमई गु्ररुपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ । नेपाल विद्युत् प्राधिकरण र सो कम्पनीबीच विसं २०६९ असार १ गते पिपिए सम्झौता भएको थियो ।

आयोजनाको अनुसार सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता भएको छ । जिल्लामा यसअघि आधा दर्जन जलविद्युत् आयोजनाले निर्माणकार्य सम्पन्न गर्दै बिजुली उत्पादन गरिरहेको छ । त्यस्तै आधादर्जन भन्दा बढी आयोजनाले निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसक्दा यस आयोजना जसरी पटक–पटक विद्युत् उत्पादन मिति तोक्दै निर्माण अघि बढाइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *