आर्थिक

धेरै धान, मकै र आलु उत्पादन गर्ने किसानलाई नगद पुरस्कार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २३ गते १८:२३
धेरै धान, मकै र आलु उत्पादन गर्ने किसानलाई नगद पुरस्कार (भिडियो रिपोर्टसहित)

२३ फागुन २०७८ पाँचथर । पाँचथरको दक्षिण भेगमा रहेको मिक्लाजुङ गाउँपालिकाले स्थानीयलाई कृषिमा आकर्षित गर्न उदाहरणीय काम गरेको छ ।

गत वर्षदेखि गाउँपालिकाले धेरै धान, मकै र आलु उत्पादन गर्ने किसानलाई प्रोत्साहन पुरस्कार दिँदै आएको छ । प्रोत्साहन पुरस्कारका कारण किसान उत्पादन वृद्धिमा हौसिएका छन् ।

पाँचथरको मिक्लाजुङ गाउँपालिकाकाले गत वर्षदेखि धान, मकै र आलु उत्पादन गर्ने किसानलाई प्रोत्साहन पुरस्कार दिन थालेको थियो । दुबै वर्षको प्रोत्साहन पुरस्कार पाउँदा कुमार श्रेष्ठ निकै खुसी हुनुहुन्छ । उहाँसँगै पुरस्कार पाउने अरु किसान पनि उत्तिकै खुसी छन् ।

विदेश र शहर केन्द्रित रोजगारीका कारण मिक्लाजुङमा कृषिप्रतिको आकर्षण घट्न थालेको थियो । कोरोना महामारीका कारण जारी गरिएको लकडाउनले त खाद्यान्नकै संकट हुने अवस्थासमेत देखियो । त्यसलाई मध्यनजर गर्दै गाउँपालिकाले नमूना कार्यक्रम संचालन गरेको थियो ।

४० मुरीभन्दा धेरै धान फलाउने, २० फिटभन्दा अग्लो मकैको थाङ्ग्रो ठड्याउने र ३५ मनभन्दा बढी आलु फलाउने किसानलाई गाउँपालिकाले प्रोत्साहन स्वरुप नगद पुरस्कार नै दिएर किसानलाई हौसला दिएको छ ।

गाउँपालिकाले किसानको घरमै पुगेर अनुगमन गरेर पुरस्कार वितरण गरेको हो । यो कार्यक्रम आएपछि किसानले उत्पादन बढाएका छन् । बाँझो रहेका जमिनमा पनि खेती हुन थालेको छ ।

गत वर्ष ५८ जना किसानले प्रोत्साहन रकम पाएकोमा यो वर्ष पुरस्कार पाउनेको संख्या दुई सय ७२ पुगेको छ । सरकारले मल, विउ र यन्त्र सहज रुपमा उपलब्ध गराएमा उत्पादन बढाउन सकिने स्थानीय किसानले बताएका छन् ।

कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने गरी गाउँपालिकाले अघि सारेको यो नमूना योजनाले धेरै फलाउने किसानलाईमात्र नभई जमिन कम भएकालाई सहयोग गरेको छ ।

यस्ता योजना सबै स्थानीय तहले गर्ने हो भने देश कृषिमा आत्मनिर्भर बन्न सक्ने त छँदैछ त्यसमाथि रोजगारीका लागि विदेशिने युवाको संख्या समेत कम गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *