आर्थिक

यसरी थलियो पाल्पाली ढाका प्रवर्द्धन अभियान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २१ गते १७:१२
यसरी थलियो पाल्पाली ढाका प्रवर्द्धन अभियान (भिडियो रिपोर्टसहित)

२१ फागुन २०७८ पाल्पा । प्रचार प्रसार हुन नसक्दा परम्परागत रुपमा नेपालमा उत्पादन हुने धेरै सामग्री लोप हुने अवस्थामा पुग्दा पाल्पाली ढाकाको प्रवर्द्धन अभियान थालिएको छ । पाल्पाली ढाकालाई ब्राण्ड बनाएर यसमा आधारित उद्यमीलाई समेत टेवा दिने लक्ष्यसहित विभिन्न गैरसरकारी संस्थाले सहकार्य गरेका छन् ।

हातले बुन्ने पाल्पाली ढाका नेपालमा मात्र होइन, विदेशमा पनि चर्चित छ । संरक्षण तथा प्रवर्द्धन हुन नसक्नु र भारतीय नक्कली ढाकाको वर्चश्वले गर्दा नेपाली ढाका ओझेलमा परेको छ । यति मात्र होइन, यसमा आधारित उद्यमीलाई समेत मर्का परेको छ ।

पाल्पाली ढाका संघले निश्चित गुणस्तरसहित ब्राण्ड लिएर पाल्पाली ढाकाको कपडालाई बजारमा लैजाने तयारी गरेको छ । युके एडको सीप नामक संस्था, लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका र पाल्पाली ढाका सङ्घको साझेदारीमा ‘नेपाली ढाका समृद्धिका लागि साझेदारी’ परियोजनामार्फत ब्राण्डिङ गरिँदैछ । ब्राण्डिङ नै गरेर प्रमाणित गरी शुद्ध पाल्पाली ढाका कपडा चिनाउने अभियानमा जुटेको हो ।

ढाकाको ब्राण्डिङ गर्ने अभियानलाई सार्थक बनाउनका लागि अर्थ मन्त्रालयले समन्वयकारी भूमिका निर्वाह गरेको छ ।

पाल्पामा नौवटा उद्योगबाट परियोजना सञ्चालनमा आएको छ भने त्यसयता तीनवटा नयाँ कारखाना स्थापना भएका छन् । केही उद्योग दर्ता प्रकृयामा छन् । आरामदायी र देख्दा पनि सुन्दर भएकाले पाल्पाली ढाकाबाट बनेको कपडा उत्कृष्ट छन् ।

त्यसमाथि हातबाट बनेको कपडाको गुणस्तर पनि उत्कृष्ट मानिँदै आएको छ । यस्तो कपडालाई अझ बढी प्रचार प्रसार गर्न सके उद्यमी र व्यापारीलाई मात्र होइन, नेपालकै अर्थतन्त्रमा समेत सहयोग पुग्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *