समाज

शहरी स्वास्थ्य केन्द्र स्थापना भएपछि सहज (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २० गते १७:४९
शहरी स्वास्थ्य केन्द्र स्थापना भएपछि सहज (भिडियो रिपोर्टसहित)

२० फागुन २०७८ पोखरा । पोखरा सराङ्कोटको फेदीमा बसोबास गर्ने नागरिकले सामान्य स्वास्थ्य उपचार पाउन कि सराङ्कोटको टुप्पैमा पुग्नुपर्ने कि पोखरा बजारका अस्पताल तथा क्लीनिकमा धाउनुपर्ने बाध्यता थियो ।

प्राथमिक स्वास्थ्य सेवा स्थानीय तह मातहत आएपछि पोखरा महानगरपालिकाले विभिन्न स्थानमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ । यसले सेवाग्राहीलाई सहज भएको छ ।

पोखरा महानगरपालिकामा गाभिनुअघि सराङ्कोट गाविसमा एउटा मात्र सरकारी स्वाथ्य चौकी थियो । सराङकोटको टुप्पोमा रहेको स्वास्थ्य चौकी पुग्नका लागि फेदी क्षेत्र भकुण्डे, पामे, तोरिपानी लगायत क्षेत्रका नागरिकलाई करिब दुई घण्टा उकालो हिड्नुपर्ने बाध्यता थियो ।

उकालो हिड्न नसक्नेले निजीस्तरका महँगा क्लीनिक र अस्पतालबाट सेवा लिनु पर्थ्यो । अहिले महानगरपालिकाले त्यस क्षेत्रमा शहरी स्वास्थ्य केन्द्र संचालन गरेको छ । शहरी स्वास्थ्य केन्द्रको सेवा शुरु भएसँगै स्थानीय बासिन्दा लाभान्वित भएका छन ।

महानगरको स्वास्थ्य महाशाखाले वडा नम्बर १८ मा रहेको आमा समूहको भवनबाट सेवा शुरु गरेको छ । यही ठाउँमा स्वास्थ्य केन्द्र भवनको शिलान्यास पनि भइसकेको छ ।

अहिले महानगरका ३३ वटा वडामा २३ शहरी स्वास्थ्य केन्द्र, १९ स्वास्थ्य चौकी, २ प्राथमिक स्वास्थ्य केन्द्र, २ आयुर्वेद स्वास्थ्य केन्द्र र एउटा अस्पताल सञ्चालनमा छन् । स्वास्थ्यलाई प्राथमिकतामा राखेर नागरिकको जीवनस्तर उकास्न सकिन्छ भन्नेमा महानगर नेतृत्व सजग छ ।

महानगरले पछिल्लो पटक ११ वटा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ । पछिल्लो समय कोरोनाको परीक्षण, कोरोनाविरुद्धको खोप र प्रजननसम्बन्धी सेवा थप भएपछि यस्ता केन्द्रहरुको महत्व झनै बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *