मोटरेबल पुलले अर्मलालाई दिएको खुशी (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७८ पोखरा । मोटरेबल पुल बनेसँगै पोखराको अर्मला क्षेत्रका स्थानीयहरुमा खुसियाली छाएको छ । पोखरा महानगरले स्थानीय खोलामा पक्की पुल निर्माण गरिदिएपछि अर्मलाका स्थानीयलाई आवतजावतका लागि सहज भएको छ ।
पक्की पुल नबन्दा महानगरकै अर्मला, मौजा, तुम्के, घोरकुना, दादरे, मादी, चिप्ले, खिलाङसँगै लमजुङको दूधपोखरी लगायतका नागरिकले पुरानो झोलुङ्गे पुल प्रयोग गर्न बाध्य थिए । हिँउदमा नदीको सतह घटेपछि मोटर गाउँसम्मै पुग्ने भए पनि वर्षामा सामान ओसारपसार गर्न सास्ती थियो ।
कतिपय मानिस यही खोलाको भेलमा बगे भने कतिपय चौपाया पनि खोलाले बगायो । अब भने त्यहाँका स्थानीयले राहत महशुस गरेका छन् । पुल बनेपछि कृषि, शिक्षा, स्वास्थ्य लगायतको पहुँचबाट नागरिकहरुलाई सहज भएको छ ।
पोखरा महानगरको ३ करोड २ लाखको लागतमा बनेको पुल महानगरको विकासमा कोशेढुंगा सावित भएको छ ।
यो पुललाई महानगरले मध्यपहाडी लोकमार्गमा जोड्न पहल गरिरहेको मेयर मानबहादुर जिसीको दाबी छ ।
पोखरा महानगरले ‘विकटलाई निकट’ ल्याउने योजनाअनुसार २०७६–७७ को आर्थिक वर्षबाट कनेक्टिङ रोडको अवधारणा ल्याएर कार्यान्वयन शुरु गरिएको थियो । सोही योजनाअनुसार यो पुल निर्माण गरिएको हो ।
प्रतिक्रिया