समाज

इटहरी उपमहानगर सबै वडामा स्वास्थ्य सेवा दिने सुनसरीकै पहिलो पालिका (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन १६ गते १४:४९
इटहरी उपमहानगर सबै वडामा स्वास्थ्य सेवा दिने सुनसरीकै पहिलो पालिका (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७८ सुनसरी । सुनसरीको इटहरी उपमहानगरले प्रत्येक वडामा आधारभूत स्वास्थ्य इकाई भवन निर्माण गरेको छ । गत वर्ष सबै वडामा शिलन्यास गरिएका स्वास्थ्य इकाई भवन एक वर्षमा निर्माण सकिएको छ र उद्घाटन हुने क्रममा छ । स्वास्थ्य इकाईमार्फत गाउँगाउँमा आधारभूत स्वास्थ्य सेवा पाउने भएपछि स्थानीय खुसी भएका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका जटिल रोगको उपचार गर्ने अस्पताल छैन । कतिपय गाउँका नागरिकले त सामान्य रोग लाग्दा समेत घण्टौं हिँडेर उपचार गर्नुपर्ने अवस्था छैन । २० वटा वडा रहेको इटहरी उपमहानगरपालिकाभित्र १४ वटा वडामा स्वास्थ्य इकाई नै थिएन । अहिले सबै वडामा स्वास्थ्य इकाई बनेको छ । आफूलाई पायक पर्ने ठाउँमा न्युनतम स्वास्थ्य सेवा पाउने भएपछि स्थानीय खुसी भएका छन् ।

गत वर्ष स्वास्थ्य इकाई भवन शिलन्यासको लहर नै चलाएको इटहरी उपमहानगरपालिकाले यो वर्ष उद्घाटनको लहर चलाउने योजना बनाएको छ । निर्माण गरिएकामध्ये वडा नम्बर १८, १९ र २० का स्वास्थ्य इकाई भवनको उद्घाटन गरिएको छ ।

बाँकीको पनि केही दिनभित्र उद्घाटन गरिने र तत्काल सेवा प्रारम्भ गर्ने तयारी छ । अब उपमहानगरको दूरदराजबाट स–साना समस्याका लागि मुख्य चोकका क्लिनिक र उपमहानगरको इटहरी अस्पताल धाउनुपर्ने बाध्यता हटेको छ । यसले इटहरीका गाउँगाउँमा स्वास्थ्य पहुँचको प्रत्याभूति गराएको उपमहानगरको बुझाई छ ।

सरकारले जारी गरेको संचालन निर्देशिका अनुसार स्वास्थ्य इकाईमा एचए वा अहेव एक जना, अनमी वा स्टाफ नर्स एक जना र कार्यालय सहयोगी एक जना गरी तीन जनाको दरबन्दी छ । स्वास्थ्य इकाईले सामान्य रोगको उपचार, बालबालिकाको खोप जस्ता अभियानमा सहजता ल्याउने उपमहानगरको स्वास्थ्य शाखाको भनाइ छ ।

सामान्य चोटपटक लाग्दा होस् या अन्य अधारभूत उपचारका लागि मुख्य चोकमा रहेका अस्पताल जानुपर्ने बाध्यता हटेको छ । प्रत्येक वडामा एक स्वास्थ्य इकाइ भवन भएको सुनसरीकै यो एक मात्र पालिका भएको उपमहानगरको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *