समाज

डोम समुदायमा बाल विवाह : बाध्यता कि संस्कार ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन १४ गते २०:३१
डोम समुदायमा बाल विवाह : बाध्यता कि संस्कार ? (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७८ रौतहट । बालविवाह गर्नु गराउनु कानूनी रुपमा अवैध हो । तर रौतहटलगायत तराईका जिल्लाका डोम समुदायमा भने ५ वर्ष उमेर बित्दै विवाह गरिदिनु सामान्य जस्तै छ । डोम समुदायलाई न कानूनको डर छ न त बाल विवाहले पार्ने नकारात्मक असरको नै ।

रौतहटमा डोम समुदायका करिब २ सय घरपरिवार बसोबास गर्छन् । यो समुदायका अधिकांश बालबालिकाको विवाह भैसकेको छ । ३ देखि १० वर्षको उमेरमा विवाह गर्ने प्रचलन छ । सानै उमेरमा विवाह हुँदा उनीहरु विद्यालय जान छोड्छन् भने कतिपय कुलतमा फस्ने गरेका छन् । अनि उमेर बढ्दै जाँदा विभिन्न समस्या भोग्नुपर्छ उनीहरुले ।

डोम समुदायका धेरैको समस्या यस्तै छ । उमेर नपुग्दै सन्तान हुने र आयस्रोत केही नहुँदा परिवार धान्नै कठिन हुने गरेको छ ।

बालविवाह हुनुको मुख्य कारण अशिक्षा, चेतनाको कमी र पुर्खा देखिको परम्परा हो । यस्ता समस्या समाधान गर्छु भन्ने अनेकन सरकारी तथा गैरसरकारी संस्था लामो समयदेखि यही क्षेत्रमा कार्यरत छन् । तर, बालविवाह रोक्न उनीहरुको भूमिका शून्य जस्तै छ । अध्ययन, कुलत नियन्त्रण र आयआर्जन वृद्धिका लागि विभिन्न कार्यक्रम संचालन गरिए पनि बालविवाहको तथ्याङ्क जस्ताको त्यस्तै छ ।

डोम समुदायले भोग्दै आएको छुवाछुतलगायतका भेदभावले पनि उनीहरुको जीवनस्तर उकासिन सकेको छैन । बिहान कमाएर बेलुका छाक टार्नसमेत हम्मेहम्मे पर्ने गरेको छ । यही समस्याका कारण पनि बालबालिका कलिलो उमेरमै विवाह बन्धनमा बाँधिने गरेका छन् । यसले समस्या समाधानभन्दा थप्ने काम मात्र गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *