बजारको फोहरले गाउँबासीलाई सास्ती (भिडियो रिपोर्टसहित)
१४ फागुन २०७८ दाङ । तुलसीपुर उपमहानगरपालिकाले दैनिक २२ टनभन्दा बढि फोहोर व्यवस्थापन गर्दै आएको छ । उपमहानगरपालिकाका नागरिकले दैनिक रुपमा उठ्ने फोहरका लागि प्रति परिवार मासिक ५ सय रुपैँया तिर्छन् । तर, बजारका बासिन्दाले फोहर जथाभावी फलिदिँदा वडा नम्बर ६, १० र १२ का नागरिक त्यसको प्रत्यक्ष असर भोग्न बाध्य छन् ।
फोहरलाई उचित व्यवस्थापन गर्न सकिएन भने त्यसले अनेकौँ समस्या सिर्जना गर्छ । त्यसैले आफ्नो वरपर सँधै सफा राख्नु पर्दछ । तर तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ६, १० र १२ का नागरिक भने तुलसीपुर बजारबाट आउने फोहरका कारण समस्या भोगिरहेका छन् । बजारका नालामा फालिएको फोहर पानीले बगाएर यहाँका स्थानीयको खेतीबारीमा पुग्ने गरेको छ । त्यति मात्र होइन नालाको किनारामा समेत फोहोर थुप्रँदा हिँड्दासमेत नाक थुन्नुपर्ने बाध्यता छ । कतिपयको घर आँगनसम्म आइपुग्छ बजारका बासिन्दाले फालेको फोहर ।
पातुखोलाबाट बग्ने पानीले वडा नम्बर ६, १० र १२ का कृषकले आफ्नो खेतबारीमा सिंचाइ गर्छन् । बजारबाट बग्ने नाला पातुखोलामै मिसिने हुनाले फोहर यहाँका स्थानीयको आँगन, बाटो र खेतबारीमा आइपुग्छ । फोहरसँगै मरेका पशुपंक्षीसमेत आउँदा गाउँ नै दुर्गन्धित हुने गरेको स्थानीय बताउँछन् । पटकपटक उपमहानगरपालिकालाई जानकारी दिँदासमेत चासो नदेखाएको स्थानीयको गुनासो छ ।
तुलसीपुर उपमहानगरपालिकाले दैनिक २२ टनभन्दा बढी फोहर व्यवस्थापन गर्दै आएको छ । फोहरको उचित व्यवस्थापनका लागि कर्मचारी र स्रोत साधन खटाइएको र जनचेतनाका लागि पनि काम भएको उपमहानगरपालिकाको भनाइ छ ।
तुलसीपुर उपमहानगरपालिकाले फोहर व्यवस्थापनको काम गर्दै आएको भए पनि दीर्घकालीन व्यवस्थापनका लागि भने सोचेको देखिएन । क्लिन तुलसिपुर ग्रीन तुलसिपुर र स्मार्ट सिटीको नारा बोकेको उपमहानगरपालिकाले आफ्नै वडामा फोहर व्यवस्थापन गर्न नसक्नु एउटा समस्या होला तर बगाएर लैजान्छ भन्ने सोचले नालामा फोहर फ्याक्ने बजारबासीको चेतनास्तर उकास्न पनि आवाश्यक देखिन्छ ।
प्रतिक्रिया