कर्णाली प्रदेश : राजधानीमै यस्ता दुर्गत वडा (भिडियो रिपोर्टसहित)
१३ फागुन २०७८ सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर । तर, यही नगरभित्रका केही वडा निकै दुर्गम छन् । मुख्य समस्या भौगोलिक कठिनाइ त हो नै साथै प्रदेश र स्थानीय सरकारले आवश्यक बजेट व्यवस्थापन गर्न नसक्दा नगरभित्रैका वडा झन दुर्गम बनेका हुन् ।
वीरेन्द्रनगर नगरपालिकाबाट नगरकै वडा नम्बर १६ सम्म पुग्न करिब २५ किलोमिटर सडक यात्रा गर्नुपर्छ । यो सडक ट्र्याक खुलेको १२ वर्ष भयो । तर आजसम्म पनि कच्ची र साँघुरो छ । यो सडक वर्षायाममा पूर्ण रुपमा बन्दै हुन्छ ।
१२ वर्षमा त खोलो फर्कन्छ भन्ने उखान सुनिरहेका नागरिक १२ वर्षसम्म सडकको अवस्था सुधार नहुँदा चिन्तित छन् नै, सवारी चालक हैरान छन् ।
प्रदेश राजधानी भएर पनि वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १५ र १६ पुग्ने सडकको अवस्था नाजुक छ । प्रदेश तथा स्थानीय सरकारले सडकलाई पहिलो प्राथमिकतामा राखे पनि सडक कच्ची हुँदा सामान्य सेवा लिन पनि घण्टौँ हिड्नुपर्ने बाध्यता छ ।
सडक स्तरोन्नति गर्न आफूहरुसँग पर्याप्त बजेट नहुने भएकाले प्रदेश र संघीय सरकारसँग पहल भैरहेको वडा कार्यालयले बताएको छ । केही रकम विनियोजन भएको र क्रमिक रुपमा बजेट माग भैरहेकाले छिट्टै सडक स्तरोन्नति हुने वडा कार्यालयको विश्वास छ ।
विकासको मुख्य आधार हो सडक । प्रदेश तथा स्थानीय सरकारले सडक निर्माणलाई प्राथमिकतामा पनि राखेका छन् । तर निर्माण र स्तरोन्नतिको काम सोचेअनुसार हुन सकेको छैन ।
प्रतिक्रिया