अन्य समुदायमा पनि सिकलसेल एनिमियाको चिन्ता (भिडियो रिपोर्टसहित)
१० फागुन २०७८ नेपालगञ्ज । पश्चिम नेपालका थारु समुदायमा मात्रै देखिँदै आएको सिकलसेल एनिमिया अन्य समुदायमा पनि देखिन थालेको छ । वंशाणुगत रुपमा फैलिने यो रोग जाजरकोटको नलगाड नगरपालिकाको एक परिवारमा देखिएपछि चिन्ता बढेको छ ।
हातगोडा र शरीरका जोर्नीहरु दुख्ने, रगतको कमी हुने जस्ता लक्षण सिकलसेल एनिमियाको लक्षण हुन् । यो रोग विशेषगरी थारु समुदायमा देखिँदै आएको थियो ।
२०७४ सालमा बर्दियाको बारबर्दिया नगरपालिकामा बसोबास गर्ने थारु समुदायका एकदेखि २९ वर्षका १५ हजार चार सय २९ जनाको रगत परीक्षण गर्दा एक हजार आठ सय दुई जनामा सिकलसेल रोगको संक्रमण देखिएको थियो । तर, पछिल्ला दिनमा थारु समुदायबाहेकका व्यक्तिमा पनि यो रोग देखापरेको छ ।
जाजरकोटको नलगाड नगरपालिका दीपबहादुर बुढाको परिवारका ५ जनामा सिकलसेल एनिमिया देखिएको छ । दीपबहादुर, उहाँकी श्रीमती, दुई छोरी र एक छोरामा सिकलसेल देखिएको हो ।
स्वास्थ्य समस्या देखिएपछि दीपबहादुरकी छोरी मीराले जाजरकोटदेखि नेपालगञ्जसम्मका विभिन्न अस्पतालमा परीक्षण गराउनुभयो । रोग पत्ता लगाउनकै लागि १२ लाखभन्दा बढी खर्च भइसक्यो । अन्त्यमा भेरी अस्पतालमा आइपुगेकी मीराको रगत परीक्षण गर्दा सिकलसेल एनिमिया देखिएको हो । मीरालाई सिकलसेल देखिए पछि परिवारका अन्य सदस्यको परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भयो ।
मिराका आमा र बुवालाई सिकलसेल ट्रेड देखिएको छ । परिवारका अन्य २ जनाको परीक्षण भएको छैन । सिकलसेल ट्रेड भएका केटा र केटीबीचमा विवाह भए उनीहरुका सन्तानमा सिकलसेल रोग वंशाणुगत रुपमै सर्छ । पछिल्लो समय थारुबाहेकका समुदायमा पनि सिकलसेल देखिन थालेको छ ।
अहिले सरकारले सिकलसेल एनिमिया रोगको उपचार पूर्ण रुपमा निःशुल्क गर्दै आएको छ । तर पनि थारु समुदायमा सिकलसेल एनिमिया देखिएकाबीचको विवाहले संक्रमण फैलिरहेको छ । सिकलसेलका बिरामीहरुबीचको बिहेबारी रोक्न सके नयाँ पुस्तालाई सिकसलेल एनिमियाको संक्रमणबाट जोगाउन सकिन्छ ।
प्रतिक्रिया