आर्थिक

घट्यो सुदूरपश्चिम प्रदेश सरकारको पूँजीगत खर्च (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ८ गते २०:५३
घट्यो सुदूरपश्चिम प्रदेश सरकारको पूँजीगत खर्च (भिडियो रिपोर्टसहित)

८ फागुन २०७८ धनगढी । पछिल्लो दुई वर्षको तुलनामा सुदूरपश्चिम प्रदेश सरकारको पूँजीगत खर्च घटेको छ । विगतका वर्षमा कर्मचारी अभाव, संरचना अभावका बाबजुद पूँजीगत खर्च सन्तोषजनक रहेको दावी गर्ने प्रदेश सरकारले यो वर्ष विनियोजित बजेटसमेत खर्च गर्न सकेको छैन ।

सुदूरपश्चिम प्रदेश सरकारले असारसम्म ८० प्रतिशतसम्म पूँजीगत खर्च हुने दावी गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७६–७७ को ६ महिनामा १० दशमलव ३६ प्रतिशत र ०७७–७८ को यही अवधिमा ११ दशमलव ८५ प्रतिशत पूँजीगत खर्च गरेको थियो । तर, चालु आर्थिक वर्षको ६ महिनामा सुदूरपश्चिमले ८ दशमलव नौ प्रतिशतमात्र पूँजीगत खर्च गर्न सकेको छ । प्रदेशको जम्मा विनियोजित १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार पूँजीगत बजेटमध्ये १ अर्ब ५७ करोड २० लाख ७२ हजार रुपयाँ मात्रै खर्च भएको छ ।

प्रदेशमा सबैभन्दा बढी प्रदेश नीति तथा योजना आयोगले ३३ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३ प्रतिशत मात्रै खर्च गरेको छ । त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयले २४, प्रदेश लोकसेवा आयोगले २३, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २१ प्रतिशन खर्च गरेको छ । यस्तै सामाजिक विकास मन्त्रालयले २१, भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले १२, आर्थिक मामिला मन्त्रालयले १०, भौतिक पूर्वाधार विकास मन्त्रालयले ९ प्रतिशत खर्च गरेको छ । मन्त्रालयले भने भौतिक प्रगति राम्रै भए पनि वित्तीय प्रगति मात्रै नदेखिएको दावी गरेको छ ।

यो वर्ष पनि खर्च कम देखिनुमा दक्ष कर्मचारी अभाव, आयोजनाको प्राथमिकीकरण र विनियोजन दक्षता कमजोर रहेको प्रदेश सरकारले जनाएको छ । प्रदेश गौरव तथा बहुवर्षीय योजनामा यथेष्ट बजेट नहुनु, टुक्रे योजनामै बजेट विनियोजन हुनुलगायत कारणले बजेट खर्च कम देखिएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।

पहिलो अर्धवार्षिकमा खर्च बढाउन नसकेको प्रदेश सरकारले प्रदेशमा गौरव गर्न लायकको योजनासमेत देखाउन सकेको छैन । यस कारण टुक्रे योजनाभन्दा पनि प्रदेश सरकारले ठुला योजना सञ्चालन गरी प्रदेशका नागरिकलाई विकासको अनुभूति गराउन जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *