समाज

सिर्सेनीमा बनेको नमूना वस्तीमा किन जान मानेनन् पीडित ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ८ गते १८:३६
सिर्सेनीमा बनेको नमूना वस्तीमा किन जान मानेनन् पीडित ? (भिडियो रिपोर्टसहित)

८ फागुन २०७८ गुल्मी । भूकम्प र पहिरोबाट विस्थापित नागरिकको पुनर्स्थापनाका लागि गुल्मीको मदाने गाउँपालिकाको सिर्सेनीमा एकीकृत नमूना वस्ती निर्माण गरिएको छ । वस्ती निर्माण भए पनि त्यहाँ बस्न व्यवहारिक नभएको भन्दै पीडित पुरानै ठाउँमा जोखिम मोलेर बसेका छन् ।

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र पहिरोबाट विस्थापित भएका नागरिकका लागि मदाने गाउँपालिकाले ४६ घर परिवारलाई विभिन्न स्थानमा पुनर्स्थापनाको व्यवस्था गरेको छ । गाउँपालिकाको वडा नम्बर ३ सिर्सेनी खन्युखर्कमा १९ घर र काफालपाटामा ११ गरी कुल ३० घर निर्माण गरिएको छ । करोडौं खर्च गरेर बनाइएको वस्तीमा बिजुलीको सुविधा नभएपछि पीडितहरु नयाँ ठाउँमा जान आनाकानी गरिरहेका छन् ।

एकीकृत वस्ती निर्माणका लागि पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई गुल्मीबाट प्रति घर जग्गा खरिदमा २ लाख, प्रति घर निर्माणमा ३ लाख विनियोजन भएको थियो । घर वरिपरी भौतिक पूर्वाधार निर्माणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई पाल्पाले पनि प्रतिघर ४ लाख रुपैयाँ दिएको थियो । पुनर्स्थापनाका लागि बनाइएको आवास क्षेत्रमा रोजगारीको ग्यारेन्टी नभएको भन्दै केही पीडितले दुखेसो गरेका छन् ।

मदाने गाउँपालिकाले वडा नम्बर ३ मा भने स्थानीय पालिकाले भने आधिकारिकरूपमा पीडितलाई घरनै हस्तान्तरण गरेको छैन । वडा नम्बर ३ बाटाचौरमा ४३ रोपनी जग्गामा १७ घर निर्माण गरिएको छ । एक करोड ३० लाखको लागतमा जग्गा खरिद र घर निर्माण गरिएको हो ।

निर्माण गरिएका एकीकृत वस्तीमा अनुगमन गरी देखिएको समस्यालाई समाधान गर्ने मदाने गाउँपालिकाले जनाएको छ ।

भूकम्प र बाढीपहिरो पीडितका लागि सरकारले ठूलो रकम खर्च गरेको छ । तर, पिउने पानी, स्वास्थ्य, शिक्षा, बिजुली जस्ता सुविधामा ध्यान नै नदिई हचुवाको भरमा बनाइँदा गुल्मीमा धेरै घर प्रयोगविहीन बनेका छन् । पुनर्स्थापनाको काम गर्दा सरकारले व्यवहारिक ढंगले योजना बनाएमा नागरिकले सुविधा पाउने थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *