समाज

मर्स्याङ्‍दी-काठमाडौं २२० केभी प्रशारण लाइन निर्माणको काम रोकियो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ७ गते २०:३९
मर्स्याङ्‍दी-काठमाडौं २२० केभी प्रशारण लाइन निर्माणको काम रोकियो (भिडियो रिपोर्टसहित)

७ फागुन २०७८ धादिङ । मर्स्याङ्‍दी–काठमाडौं २ सय २० के।भी। प्रशारण लाइन निर्माणको काम रोकिएको छ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ पिपलटारमा जग्गाको मुआब्जा नपाएको भन्दै स्थानीयले अवरोध गरेपछि आयोजनाको निर्माण रोकिएको हो ।

मर्स्याङ्‍दी नदीबाट उत्पादित विद्युत सप्लाई गर्नका लागि सञ्चालनमा रहेको १ सय ३२ केभी प्रशारण लाइनले धान्न नसकेपछि २ सय २० को नयाँ प्रशारण लाइन निर्माण थालियो । ८२ किलोमिटर लम्बाइको परियोजनमा कुल २ सय ३१ वटा टावर रहनेछ । तर, धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ पिपलटारमा २ वटा टावर क्षेत्रमा जग्गाको मुआब्जाको विवाद भएपछि काम रोकिएको छ । मुआब्जा नपाएको र पाएकाले पनि मूल्यांकनभन्दा कम रकम पाएको भन्दै स्थानीयले अवरोध गरेपछि आयोजना अवरुद्ध छ ।

आयोजनाले प्रशारण लाइनको केन्द्रबाट १५–१५ मिटर दायाँबायाँ रहेका जग्गा, संरचना, रुख तथा बालिनालीको क्षतिपूर्तिसहित मुआब्जा दिने सूचना प्रकाशित गरेको थियो । तर, आयोजनाको सर्वे गर्दाको समयमा आफूहरुलाई जानकारी नभएको दाबी छ ।

२०७४ साल वैशाख १ र असोज १० गते क्षतिपूर्तिसहित मुआब्जाको सूचना प्रकाशित गरी जग्गा अधिग्रहणको काम शुरु भएको थियो । विभिन्न स्थानमा मापदण्डमा नपर्ने जग्गा तथा संरचनाले पनि मुआब्जा मागेर अवरोध गरिरहेको आयोजनाको दाबी छ । निर्माणमा आएको अवरोध हटाउन जिल्ला प्रशासन कार्यालय धादिङले समन्वय गरिरहेको छ ।

६ सय मेगावाट विद्युत प्रशारण गर्ने उद्देश्यले २०७३ सालमा निर्माण शुरु गरिएको हो । सरकारबाट प्राथमिकता प्राप्त यो आयोजना एसियाली विकास बैंकको सहयोगमा निर्माण गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *