समाज

धौलागिरि अस्पतालको भवन निर्माण अलपत्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ६ गते २०:३५
धौलागिरि अस्पतालको भवन निर्माण अलपत्र (भिडियो रिपोर्टसहित)

६ फागुन २०७८ बागलुङ । बागलुङको धौलागिरि अस्पतालको सी ब्लक भवन आठ वर्षसम्म पनि निर्माण सम्पन्न भएको छैन । सरकारी निकायकै मिलेमतोमा विभिन्न बहाना देखाउँदै निर्माण अलपत्र पारिएको स्थानीयको आरोप छ ।

चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका जनतालाई लक्षित गरी गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले अस्पताल भवन निर्माण शुरु गरिएको हो । २०७० सालमा निर्माण शुरु गरिएको यो भवनको काम आठ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन ।

नेपाल सरकारको करिब दश करोड ६६ लाख लागत रहेको यो भवन आशिष मिलेनियम–भीम–ज्योति जेभीले २०७३ साल असार १० गते निर्माण सम्पन्न गर्ने सम्झौता गरेका थिए । सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङ र निर्माण कम्पनीको मिलेमतोमा पटकपटक म्याद थप भएका कारण निर्माण अलपत्र परेको स्थानीयको आरोप छ ।

हालसम्म चार पटक म्याद थप भैसकेको छ । अन्तिम पटक २०७८ साल वैशाख ३१ गते थपेको म्याद माघ २९ सकिएको छ । तर, यतिबेला निर्माण सम्पन्न भैसक्नुपर्ने भवनको काम कछुवाको गतिमा भैरहेको छ । भवन निर्माण पूरा नहुँदा अस्पतालमा सेवाका लागि ल्याएका उपकरण अलपत्र परेका छन् भने अस्पतालले प्रदान गर्नुपर्ने सेवा उपभोग गर्नबाट जनता बञ्चित भएका छन् ।

हालसम्म भवनको ९० प्रतिशत काम सकिएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले कोरोना महामारी र अन्य अवरोधका कारण काम हुन नसकेको बहाना गर्दै आएको छ ।

केही समय विद्युतीय ट्रान्सफरमर सार्न समय लाग्यो । यहीबीचमा पटकपटक कोरोनाका कारण कठिनाइ भयो । तर, २०७३ सालको असारमा सक्नुपर्ने भवन निर्माण आजसम्म नसकिनुले निर्माण कम्पनी तथा नियामक निकायको नियत हो भन्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *