खेलकूद

आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप ग्लोबल छनोट क्रिकेटमा नेपालको शानदार शुरुवात

हिमालय टिभी
२०७८ फागुन ६ गते १५:०३
आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप ग्लोबल छनोट क्रिकेटमा नेपालको शानदार शुरुवात

६ फागुन २०७८ काठमाडौं । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप ग्लोबल छनोट ए को पहिलो खेलमा घरेलु टोली ओमानलाई हराउँदै नेपालले शानदार शुरुवात गरेको छ ।

दोस्रो पटक विश्वकप खेल्ने लक्ष्यसहित ओमान गएको नेपालले पहिलो खेलमै ओमानविरुद्ध ३९ रनको रोमाञ्चक जित निकालेको हो । १ सय १८ रनको झिनो लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७८ रन बनाएर अलआउट भयो ।

खराब ब्याटिङ गरेको ओमानका लागि विकेट किपर ब्याटर नसिम शुखीले सर्वाधिक २४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । तीव्र गतिका बलर कमलसिंह ऐरीले पहिलो ओभरको तेस्रो बलमै ओपनर कश्याप प्रजापतिलाई शून्यमा आउट गर्दै ओमानमाथि दबाब बनाएका थिए ।

लगातार विकेट गुमाएको ओमानले ३५ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो । ओमानलाई सस्तैमा रोक्न कमलसिंह ऐरीले ३ विकेट लिए ।

त्यस्तै, कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए । अभिनाश बोहरा र जितेन्द्र मुखियाको नाममा १–१ विकेट रह्यो ।

यसअघि, अल अमरेत क्रिकेट मैदानमा टस गुमाएर पहिले ब्याटिङ थालेको नेपालले पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय १७ रन बनायो ।

खराब शुरुवात गरेको नेपालले पहिलो ओभरमै ओपनर आसिफ शेखलाई ४ रन र तेस्रो ओभरमा कुशल भुर्तेललाई ५ रनमा गुमाएको थियो । दुवै ओपनर आउट हुँदा नेपालको खातामा मात्र १२ रन थियो । त्यसपछि आएका ज्ञानेन्द्र मल्लले पाली सम्हाल्ने कोशिस गरेपनि उनी १५ रन बनाएर पेभेलियन फर्किए । ज्ञानेन्द्र आउट भएसँगै ३ विकेट गुमाएर ३३ रनको अवस्थामा पुगेको नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ र कप्तान सन्दीप लामिछानेले नटआउट १६ रन बनाए ।

ओमानका स्पिनर खवर अलीले ३ र बिलाल खानले २ विकेट लिए ।
जितसँगै समूह बी मा नेपालको शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्