समाज

सीमा स्तम्भ मर्मत नहुँदा भारतीय पक्षले यसरी दुःख दिँदै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ४ गते १८:३७
सीमा स्तम्भ मर्मत नहुँदा भारतीय पक्षले यसरी दुःख दिँदै (भिडियो रिपोर्टसहित)

४ फागुन २०७८ कञ्चनपुर । भारतको उत्तराखण्ड र उत्तर प्रदेशसँग जोडिएको कञ्चनपुर जिल्ला धेरै जसो ठाउँमा सीमा स्तम्भ मर्मत नहुँदा भारतीय पक्षले दुःख दिने गरेको छ । वास्तविक सीमा स्तम्भहरु भत्कँदै जाँदा भारतीय सीमा सुरक्षा बलले नेपाली भूभागमा काठको किल्ला ठोकेर सो किल्लाभन्दा भित्र नआउन धम्की दिने गरेको छ ।

सिंचाइ र जलमापन गर्न बनाइएको सीमा स्तम्भलाई समेत भारतले आफ्नो बनाएको छ । नेपाली लालपुर्जा रहेको जमिनलाई पनि भारतीयले उपभोग गर्दै आएका छन् । त्यहाँ वरिपरी घर बनाउन रोक लगाएको छ । भारतले भनेको सीमा स्तम्भ मान्ने हो भने भीमदत्त नगरपालिका वडा नम्बर ९ मा रहेको ब्रहमदेव बजार भारततर्फ जाने स्थानीय बताउछन् ।

कञ्चनपुर जिल्लामा भारतसँग सिमाना छुट्याउने ६४ वटा मुख्य सीमा स्तम्भ छन् । जसमध्ये ६ वटा खोलाले बगाएको छ भने ५ वटा हराएका छन् । २ सय २२ सहायक स्तम्भमध्ये ३० वटा खोलाले बगाएको छ भने २३ वटा हराएका छन ।

यसैगरी १ सय ४ वटा साना स्तम्भमध्ये ७ वटा मात्रै ठीक अवस्थामा छन् । ८५ वटा निर्माण नै भएको छैन । ८ वटा हराएका छन् भने ४ वटा खोलाले बगाएको छ । भारतसँग सीमा छुट्याउने मुख्य सीमा स्तम्भ, सहायक स्तम्भ र साना स्तम्भको मर्मत संभार नहुँदा सीमा वरपर रहने स्थानीय, सीमा सुरक्षाका लागि खटिने सुरक्षाकर्मीले समस्या भोग्ने गरेका छन् ।

सीमा स्तम्भ मर्मत तथा निर्माणका विषयमा केन्द्रमा जानकारी गराइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । २०७० सालमा संयुक्त सर्भे टोलीले सीमा स्तम्भहरूको अध्ययन गरेर निर्माणको काम शुरु गरेको थियो  । जोइन्ट सर्भे टिमले दिएको निर्देशन अनुसार जोर नम्बरका सीमास्तम्भ भारतले र विजोर स्तम्भ नेपालले निर्माण गर्नुपर्ने थियो । तर, महाकाली नदी किनारामा सीमास्तम्भ नबन्दा भारतीय पक्षले दुःख दिने गरेको छ ।

सरकारले आफ्नो सीमा क्षेत्रलाई सुरक्षित गर्न नसक्दा देशको भूमि त मिचिएको छ नै सँगै यहाँका स्थानीयले विभिन्न समस्या भोग्न बाध्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *