छाउगोठमा बस्ने महिलाको संख्या न्यून, सुरक्षित महशुस गर्दै महिला- अरु के-के भए सुधार ? (भिडियो रिपोर्टसहित)
४ फागुन २०७८ सुर्खेत । कर्णाली र सुदूरपश्चिम क्षेत्रका छाउगोठ भत्काउन २ वर्ष अगाडी गृह मन्त्रालयले अभियान शुरु गरेको थियो । सो कार्यक्रम संचालन हुँदा धेरै घरछेउमा रहेको छाउगोठ भत्काइए ।
अहिले नगरपालिकाले पनि छाउगोठमा नबस्ने महिलालाई पोषणयूक्त खाना दिने भएपछि छाउगोठमा बस्ने महिलाको संख्या न्यून छ भने महिलाहरुले पनि सुरक्षित महशुस गरेका छन् ।
सरकारले छाउगोठ भत्काएपछि अहिले महिलाहरु महिनावारी भएको बेला घरमै बस्न थालेका छन् । घरमा नै बस्न थालेसँगै महिलाहरु सुरक्षित र आराम महशुस गर्न थालेका छन् । छाउगोठमा विविध समस्या भोग्नुपर्ने महिलाको गुनासो थियो । तर, घरमै बस्नथालेपछि भने धेरै समस्या भोग्नु नपरेको महिलाहरु बताउँछन् ।
छाउ भएका महिलाहरुलाई दुर्व्यवहार हुने गरेको थियो । कतिपय स्थानमा बलत्कार तथा हत्याका घटनासमेत भएका उदाहरण छन् । पारिवारिक माया र सुरक्षामा रहनुपर्ने सो अवस्थामा आफ्नै परिवारका सदस्यभन्दा टाढा बस्नुपर्दा कठिन हुन्थ्यो । मासिक श्राव भएका बेला अध्ययनका लागि समेत समस्या हुने गरेको थियो ।
छाउगोठ भत्काइसकेपछि घरको कोठामा बस्ने महिलालाई पञ्चपुरी नगरपालिकाले पोषणयूक्त खाना प्रदान गर्दछ । छाउगोठमा बसेको भेटिएमा नगरपालिकाले ऐन अनुसार कारवाही गर्ने तथा नगरपालिकाले दिने सेवा र सुविधाबाट पूर्णरुपमा बञ्चित गर्ने निर्यण गरेको छ ।
मन्त्रालयले जिल्ला प्रशासन कार्यालय तथा मातहतका प्रहरी कार्यालयलाई परिचालन गरेर छाउगोठ भत्काइएको थियो। स्थानीय जनप्रतिनिधि र प्रहरी घरघरमा पुगी सम्झाई बुझाई उनीहरु महिनावारी भएको बेला बस्ने छाउगोठहरु भत्काएका थिए।
प्रतिक्रिया