समाज

लाँकुरी मञ्चको थ्रीडी पार्क यसरी भयो अलपत्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २५ गते २०:३२
लाँकुरी मञ्चको थ्रीडी पार्क यसरी भयो अलपत्र (भिडियो रिपोर्टसहित)

२५ माघ २०७८ गुल्मी । गुल्मी सदरमुकाम तम्घासको लाँकुरी मञ्चमा निर्माण भएको थ्रीडी पार्क अहिले अलपत्र परेको छ । नगरपालिकाले बेवास्था गर्दा ५५ लाखको लागतमा निर्माण भएको पार्क संचालनमा आउन सकेको छैन ।

गुल्मी सदरमुकाम तम्घासको लाँकुरी मञ्चमा थ्रीडी पार्कको संरचना निर्माण भएको दुई वर्षभन्दा बढी भयो । तर, पार्क व्यवस्थापन र संचालनको काम हुन सकेको छैन् ।

तम्घासको पहिचानसँग जोडिएको यो पार्कलाई थ्रीडीमा रुपान्तरण गर्ने विषयमै मतभेद हुँदाहुँदै पार्क बनाइएको थियो । पार्क बनिसके पनि त्यसले तम्घासको पहिचान स्थापित गर्न नसकेकोमा स्थानीय असन्तुष्ट छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको गेटैमा रहेको यो पार्कमा ती कार्यालयको नजर भने पुग्न सकेको छैन ।

पार्क संरक्षणमा कसैले चासो नदिँदा जीर्ण बन्न थालेको छ । पार्कको गेट भाँचिएको छ भने रंगसमेत खुइलिन थालेको छ । हस्तान्तरण नहुँदै पार्कको संरचना बिग्रन थालेपछि पार्क पुनस् निर्माण गर्न थालिएको छ । लगानी बालुवामा पानी खन्याएजस्तै भएको छ ।

पार्कको अवस्थाबारे नगरप्रमुख डिल्लीराज भुसाल जानकार हुनुहुन्छ । र, छिट्टै संचालनमा ल्याउने दाबी गर्नुहुन्छ ।

माल पाएर पनि चाल नपाउने स्थानीय तहको यस्तो रवैयाले राज्यकोष दोहनमा थप मलजल गरेको छ । शुरुमा संरचना बनाउन हतारिने, बनिसकेपछि भने अन्देखा गर्ने यस्ता परिपाटीका कारण स्थानीय तहमाथि नागरिकको विश्वास गुम्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *