समाज

पार्क पुनर्निर्माणमा जुट्यो बागलुङ नगरपालिका (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २४ गते १४:२७
पार्क पुनर्निर्माणमा जुट्यो बागलुङ नगरपालिका (भिडियो रिपोर्टसहित)

२४ माघ २०७८ बागलुङ । अव्यवस्थित शहरीकरणसँगै मानिसहरुले खेल्ने र रमाउने ठाउँ पनि हराउँदै गएका छन् । देशभरका स्थानीय तहमा एक वडा एक पार्कको अवधारणा भए पनि धेरै स्थानमा कार्यान्वयन हुन सकेको छैन । बागलुङ नगरपालिका भने पार्क पुनर्निर्माणमा जुटेको छ ।

केही समय अगाडीसम्म बागलुङ नगरपालिका वडा नम्बर दुईमा रहेको वीरेन्द्र–ऐश्वर्या पार्क फोहोर र हिलाम्मे अवस्थामा थियो । अहिले भने पार्क पुनर्निर्माण थालिएको छ । झण्डै एक करोड लगानीमा पार्क पुनर्निर्माणमा ताराखोलामा पाइने स्लेट ढुङ्गाको प्रयोग गरिनेछ । ताराखोलाको स्लेट ढुङ्गा अन्य ढुङ्गाभन्दा उत्कृष्ट र बलियो मानिन्छ । आराम गर्न र फुर्सदिलो समय बिताउनका लागि ठाउँ पाउने भएपछि स्थानीय पनि खुसी भएका छन् ।

पार्कलाई अशोका, स्वमी, कपुरलगायतका बोटविरुवाले सजाइने योजना छ । ए एण्ड ए कन्स्ट्रक्सन कम्पनीले चार महिनामा निर्माण सक्ने गरी ठेक्का पाएको छ ।

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि स्थानीय श्रोतबाट पार्क पुनर्निर्माण थालिएको बागलुङ नगरपालिको जनाएको छ । पार्क निर्माण भएपछि बागलुङ सदरमुकामको प्रतिष्ठा नै बढ्ने नगरपालिकाको दाबी छ ।

अव्यवस्थित शहरीकरणको चपेटामा परेका पार्क पुनर्निर्माण हुन थालेपछि स्थानीय पनि उत्साही छन् । स्थानीय श्रोतको प्रयोग गरी पुराना पार्क पुनर्निर्माण गरिँदा आन्तरिक पर्यटनमा टेवा पुग्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *