समाज

यसरी सिंगारिँदै नेपालको ताज महल ‘रानीघाट दरबार’ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २२ गते २०:४४
यसरी सिंगारिँदै नेपालको ताज महल ‘रानीघाट दरबार’ (भिडियो रिपोर्टसहित)

२२ माघ २०७८ पाल्पा । पाल्पाको रानीघाट दरबार संग्रहालय रानीलाई झैं सिंगारिएको छ । सन् १९५० मा पाल्पाका बडाहाकिम बनेका बेला खड्ग शम्शेरले रानी तेजकुमारीको स्मृतिमा बनाएको दरबार नै रानीमहल हो । नेपालको ताज महल भनेर चिनिने रानी महलमा सहज बाटो पुगेसँगै त्यहाँ पुग्ने पर्यटकको संख्या पनि बढ्न थालेको छ ।

रानी महललाई भारतको ताज महलसँग तुलना गर्न त नमिल्ला । तर, जुन उद्देश्यले सारजहाँले ताजमहल निर्माण गरेका थिए, रानी महल बन्नुको पछाडीको कारण पनि उस्तै छ । जंगबहादुर राणाका कान्छा भाइ धीर शम्शेरका तेस्रो पुत्र खड्ग शम्शेरले सबैभन्दा प्रिय रानी तेजकुमारीको स्मृतिमा बनाएको दरबार अवलोकन गर्न अहिले थुप्रै पर्यटक पुग्ने गरेका छन् ।

केही समयअघिसम्म जीर्ण अवस्थामा रहेको रानी महल अहिले सिंगारिएको छ । दरबार मात्र होइन, छोउमै बग्ने काली गण्डकी नदी र वरपरका रमणीय वातावरणका कारण रानी महलमा विद्यार्थी र आन्तरिक पर्यटक आकर्षण छ ।

झण्डै एक सय ३० वर्ष पुरानो रानी महलले त्यसबेलाको वास्तुकला झल्काइरहेको छ । त्यहाँका खोपी, भान्सा, शयन कक्ष लगायतका संरचनाले राणा शासकको ऐय्यासी समेत प्रतिबिम्बित गरिरहेको छ ।

वास्तुकला मात्र होइन, त्यसबेला यस्तो विकट स्थानमा महल बनाउने कामदारले कति दुःख गरे होलान् भन्ने पनि अनुमान गर्न सकिन्छ । यसलाई अझ प्रवर्द्धन गरेमा धेरै पर्यटक भित्र्याउन सकिने पर्यटककै अनुभव छ ।

पर्यटन मन्त्रालय र पुरात्व विभागले रानीमहल दरबारको रेखदेख तथा संरक्षण गर्ने जिम्मेवारी तानसेन नगरपालिकालाई १५ वर्षका लागि सुम्पिएको छ । तानसेन नगरपालिकाको जिम्मेवारीमा आएपछि दरबारको लिपपोत, सरसफाई, हराएका बस्तुरुको संकलन गरी मिनी संग्राहलयका स्थापना गरिएको छ ।

इतिहास संरक्षणमा नेपाल अरु देशको तुलनामा निकै पछि छ । रानी महल मात्र होइन, यस्ता धेरै सम्पदाहरु उत्खनन नै गर्न सकिएका छैनन् । कतिपय सम्पदा अलपत्र छन् । यस्ता पुरातात्विक महत्वका सम्पदाको संरक्षण गरेर भावी पुस्ताका लागि पनि इतिहास जोगाइदिनु हामी सबैको कर्तव्य हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *