आर्थिक

सुन्तलीको लोभलाग्दो सफलता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २२ गते १८:२८
सुन्तलीको लोभलाग्दो सफलता (भिडियो रिपोर्टसहित)

२२ माघ २०७८ धादिङ । कोरोना महामारीका कारण धेरैको जीवन अस्तव्यस्त भयो भने कतिले रोजगारी गुमाए । तर, यही चुनौतीपूर्ण समयमा आफ्नो अवसर खोज्न सफल हुनुभयो धादिङकी सुन्तली तामाङ ।

लकडाउनको सदुपयोग गर्दै उहाँले व्यवसायिक बाख्रापालन शुरु गर्नुभयो । जसले सुन्तलीलाई अहिले सफल पशुपालक बनाएको छ ।

धादिङको रोराङ गाउँपालिका–२ काफलटारकी सुन्तली तामाङ ।लकडाउन अगाडी उहाँको गोठमा सात वटा खसी बाख्रा थिए । लकडाउन भएसँगै सवारी चालक श्रीमानको कमाई रोकियो । आयस्रोत घटेपछि के गर्ने भन्ने पीडाले उहाँलाई सताउन थाल्यो । त्यहीबेला उहाँले धेरै पहिला लिएको बाख्रापालन तालिमको सदुपयोग गर्ने सोच्नुभयो ।

उहाँसँग अहिले १ सय २० खसीबाख्रा छन् । जसमध्ये ३५ वटा माउ छन् भने १५ वटा व्याउने अवस्थामा छन् । उहाँले व्यवसायिक रुपमा बाख्रापालन गर्न प्रदेश सरकारको सहयोग र वित्तीय संस्थाबाट ऋण लिएर आधुनिक खोर निर्माण गर्नुभएको छ । आवाश्यक पर्ने दाना घरमै उत्पादन गर्नुहुन्छ र बारीमा घाँस खेती गर्नुभएको छ । बजारको पनि कुनै समस्या छैन । किन्ने मान्छे घरमै आइपुग्छन् र आफूले चाहेको दररेटमा विक्री हुन्छ ।

व्यवस्थित खोर बनाएकाले एक्लैले धेरै बाख्रा पाल्नसक्छु भन्ने उहाँलाई लागेको छ । अहिले १ सय २० खसीबाख्राले काम नपुगेर १२ वटा बुँगुर र १० वटा पाडापाडी पनि पाल्नुभएको छ । खसीबाख्राको संख्या ५ सय पुरउने उहाँको लक्ष्य छ ।

हाल उहाँले खसीबाख्रा विक्री गरेर वार्षिक १५ लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ । मेहनत र लगाव हुने हो भने घरमै बसेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नु भएको छ, सुन्तली तमाङ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *