आर्थिक

प्रणय दिवस आउन लाग्यो, प्रेमको प्रतीक गुलाबको माग बढ्यो

हिमालय टिभी
२०७८ माघ २१ गते १६:१०
प्रणय दिवस आउन लाग्यो, प्रेमको प्रतीक गुलाबको माग बढ्यो

२१ माघ २०७८ काठमाडौं । स्वदेशी उत्पादन कम भएकाले विगतको वर्षभन्दा यसवर्ष प्रेम दिवसका लागि भारतबाट ५० हजार बढी रातो गुलाब आयात गरिने भएको छ ।

कारोनाको कारण विगत दुई वर्षदेखि व्यापारीले यस व्यवसायमा थप लगानी नभएको तथा माघको सुरुआतदेखि घाम नलागेका कारण यसवर्ष रातो गुलाब उत्पादनमा कमी आएकाले आयात वृद्धि गर्नुपर्ने भएको हो ।

पे्रमको प्रतीक मानिने रातो गुलाबको गतवर्ष एक लाख ८० हजार स्टिक बजार माग रहेको थियो भने यसवर्ष बजार माग ५० हजार स्टिकले बढी भएको छ । अघिल्लो वर्ष बजार मागको २० प्रतिशत स्वदेशी उत्पादन थियो । अहिले मागको दश प्रतिशत मात्र धान्ने अवस्था रहेको फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङ्ले जानकारी दिनुभयो ।

अध्यक्ष तामाङ्का अनुसार यसवर्ष दुई लाख ५० हजार स्टिक गुलाब खपत हुने अनुमान गरिएको छ । हरेक वर्ष रु दुई करोड गुलाबको आर्थिक कारोबार हुने गरेको छ । यसरी ल्याइने फूलमध्ये ४० प्रतिशत काठमाडौँ उपत्यकामा र अन्य बाँकी देशका मुख्य सहरमा खपत हुन्छ । यसवर्ष उपभोक्ताले गुलाबप्रति स्टिक रु ८० देखि एक सय सम्ममा खरित गर्नुपर्ने बताइएको छ ।

यो मूल्य विगतमा भन्दा बढी हो । हरेक वर्ष फेब्रुअरी १४ मा प्रणय दिवस (भ्यालेन्टाइन डे) मनाइँदै आएको छ । नेपालमा वार्षिक रूपमा डेढअर्ब फूलको आर्थिक कारोबार हुने गरेको छ । तिहारमा मात्र रु सात करोडको फूलको कारोबार हुँदै आएको छ । त्यसैगरी करिब रु पाँच करोड फूल वार्षिक रूपमा आयात हुने गरेको छ ।

मुख्यगरी कात्तिकदेखि फागुनसम्ममा फूलको बढी खपत हुने गरेको छ । प्रणय दिवसमा रातो गुलाब र तिहारमा सयपत्री फूल आयात गर्नुपरे पनि नेपाल मखमली र गोदाबरी फूलमा आत्मनिर्भर बनिसकेको छ । तिहारको समयमा अस्टे«लिया र मलेसियामा तिहारमा मखमली फूल निर्यात समेत हुने गरेको छ ।

पुष्प व्यवसायबाट नेपालमा ४१ हजारभन्दा बढी व्याक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग एक हजार ४७ हेक्टर क्षेत्रफलमा ६०० प्रजातिका फूल उत्पादन हुने गरेको छ । व्यावसायिक रुपमा चार सय प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ । जसमा रातो गुलाब १२ प्रजाततीको खेती हुने गरेको छ ।

नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदो छ । फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्प फार्म तथा नर्सरी विस्तार भइसकेको छ ।

वर्षको तिहारमा १८ लाख ५० हजार मालाको माग थियो । तीमध्ये १५ लाख ५० हजार सयपत्री र तीन लाख मखमली एवं गोदावरी फूलको माला रहेका छन् । लामो समयदेखि कोरोना भाइरस सङ्क्रमणका कारण दैनिक रु एक करोडको नोक्सान व्यहोरिरहेको पुष्प व्यवसायले अहिले दैनिक करिब रु ७० लाखको कारोबार गर्न थालेको छ ।

कोरोना महामारी हुनुभन्दा पहिले असोजदेखि फागुन महिना फूलको बढी कारोबार हुने मौसम हो अहिले राम्रोसँग कारोबार हुने समय पनि भएको र कोरोना सङ्कक्रमण पनि विस्तारै न्यून हुँदै गइरहेकाले यस व्यवसायले गति समाएको हो ।

कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले विगत डेढ वर्षदेखि नै राम्रो आम्दानी गर्न नसके पनि पछिल्लो समय विस्तारै तङ्ग्र्रिन थालेको छ । कोरोना सङ्क्रमण त्रासकैबीच लामो समयदेखि बन्द रहेको अन्य केही व्यवसाय विस्तारै खुला हुन थालेसँगै यस व्यवसायले पनि लय लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *