समाज

पाएनन् अपाङ्गता भएकाले कोरोनाविरुद्धको खोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १८ गते २०:०३
पाएनन् अपाङ्गता भएकाले कोरोनाविरुद्धको खोप (भिडियो रिपोर्टसहित)

१८ माघ २०७८ धादिङ । सरकारले कोरोनाविरुद्धको खोप अभियान चलाएको धेरै भइसक्यो । १८ वर्षमाथिका ७० प्रतिशत नागरिकले पूर्ण खोप पाइसके । कतिपय नागरिकले त बुस्टर डोज नै लगाइसके । तर, अपाङ्गता भएका कतिपय व्यक्तिले पहिलो डोज नै पाउन पाएका छैनन् ।

धादिङको नीलकण्ठ नगरपालिका गर्बेबहादुर मिजारकी छोरी पूर्ण रुपमा अपाङ्ग हुनुहुन्छ । उहाँ न हिँड्न सक्नुहुन्छ न बोल्न नै । परिवारका सबै सदस्यले कोरोनाविरुद्धको खोप पाइसक्दा अपाङ्गता भएकी एक जनाले खोप लगाउन पाउनुभएको छैन । भौगोलिक विकटताका कारण खोप केन्द्रसम्म लैजान सम्भव भएन । छोरीको अवस्थाका बारेमा सम्बन्धित निकायमा खबर गर्दा पनि कहीँ कतैबाट सुनुवाइ भएन ।

सीता सुनार र जानुकाको पीडा पनि उस्तै छ । गाडी रिजर्भ गरेर छोरालाई खोप केन्द्र पुर्‍याउने सीताको हैसियत छैन । दलित समुदायकी अगुवा भएर पनि २२ वर्षीया छोरीलाई खोप दिलाउन नसक्नुको पीडाले जानुकालाई पिरोल्दै आएको छ ।

पूर्ण अपाङ्गता भएका र हिँड्नै नसक्ने जेष्ठ नागरिकलाई खोप दिलाउन सरकारले पहल नगरेको स्थानीयको आरोप छ । तर, साधन श्रोतको सिमितताका कारण घरघरमा खोप पुर्‍याउन सम्भव नभएको जिल्ला स्वास्थ्य कार्यालयको जवाफ छ ।

धादिङमा मात्र होइन, भौगोलिक विकटता, कमजोर आर्थिक अवस्था र सरकारले विशेष व्यवस्था गर्न नसक्दा अपाङ्गता भएका सबै नागरिकलाई खोप पुर्‍याउन नसकेको हो । त्यसैले सबै नागरिकलाई खोप दिलाउने सरकारको नीति पूरा गर्नका लागि स्थानीय तह थप सक्रिय भएर लाग्नु आवश्यक देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *