समाज

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माण कार्य पूरा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १८ गते १८:२९
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माण कार्य पूरा (भिडियो रिपोर्टसहित)

१८ माघ २०७८ भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माण कार्य सकिएको छ । भैरहवामा निर्माण गरिएको विमानस्थलमा अब क्यालिब्रेशन उडानका लागि तयारी थालिएको छ । त्यसका लागि थाई एरोका प्राविधिकहरु विमानस्थलमा आएर अहिले उपकरण जाँच गरिरहेका छन् ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भएको छ । २०७१ साल माघमा शिलान्यास भएको विमानस्थल निर्माणका लागि आठ पटक म्याद थपियो ।

सात वर्ष लगाएर दुई चरणमा भौतिक संरचना, सञ्चार उपकरण जडान लगायत सबै काम सम्पन्न भएको हो । अहिले जडान गरिएका उपकरणको प्राविधिक जाँच भइरहेको छ ।

थाइल्याण्डको थाई एरो कम्पन्नीले मौसम सफा भए फागुन ९ गतेसम्म क्यालिब्रेशनको उडाउनको तयारी गरेको छ । अहिले ग्राउण्ड टेस्टको काम सुरु भएको छ । थाई एरोका प्राविधिक बिमानस्थलमा आएर मौसम, सञ्चार, विमानको दिशा पत्ता लगाउने जाँच गरिरहेका छन् ।

थाई एरोले बिमानस्थलको प्राविधिक परीक्षण गरेपछि नेपाल नागरिक उड्यन प्राधिकरणलाई यसको रिपोर्ट बुझाउने छ । रिपोर्टमा सबै ठिक भए प्राधिकरणले यस सम्बन्धमा अन्तराष्ट्रिय समुदायलाई जानकारी दिनेछ । यसपछि विमान उडाएर विमानस्थलको परीक्षण गरिनेछ । त्यसको ५६ दिनभित्र विमानस्थलबाट नियमित उडान गर्न सकिन्छ ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले केही दिनअघि विमानस्थलको निरीक्षण गर्दै फागुन ९ मा क्यालिब्रेसन उडान गरेर आगामी बुद्ध जयन्तीभन्दाअघि नै विमानस्थल संचालन गर्न निर्देशन दिनुभएको छ ।

क्यालिब्रेशन फ्लाईटको लागि विमानस्थल तयार छ । तर, विभिन्न समस्या देखाएर आयोजना सम्पन्न गर्न ढिलासुस्ती गर्ने परिपाटीले भने समयमा संचालन हुनेमा आशंका कायमै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *