समाज

गल्कोटमा जिल्लाकै ठूलो शीत भण्डार निर्माण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १६ गते १६:५४
गल्कोटमा जिल्लाकै ठूलो शीत भण्डार निर्माण (भिडियो रिपोर्टसहित)

१६ माघ २०७८ काठमाडौं । बागलुङको गल्कोट नगरपालिकामा जिल्लाकै ठूलो शीत भण्डार निर्माण गरिएको छ । शीत भण्डार बनेपछि मुस्ताङको स्याउ, ताराखोलाको आलु र बागलुङको सुन्तलाको स्वाद अब उपभोक्ताले वर्षैभरी लिन पाउने भएका छन् ।

स्थानीय युवाको सामूहिक लगानीमा निर्माण गरिएको शीत भण्डारका कारण स्थानीय उत्पादनले बाह्रै महिना बजार पाउने भएपछि कृषक खुसी भएका छन् ।

बागलुङको गल्कोट नगरपालिका र गुल्मीका युवाको संयुक्त लगानीमा संचालन भएको शीत भण्डार अर्थात् कोल्ड स्टोरमा एक पटकमा एक लाख २५ हजार किलो तरकारी तथा फलफूल भण्डारण गर्न सकिन्छ । ताराखोलाको आलु र मुस्ताङको स्याउ भण्डारण गरेर बाह्रैमास उपभोक्तामाझ पुर्‌याउने लक्ष्यका साथ यो कोल्डस्टोर संचालन गरिएको हो ।

स्थानीय उत्पादन समयमै बिक्रि नहुँदा र सिजनमा राम्रो मूल्य नपाउँदा किसानलाई ठूलो नोक्सानी हुँदै आएको थियो । कोल्डस्टोरमा आलु र सुन्तला तीन महिना र स्याउ ६ महिनासम्म भण्डारण गर्न सकिन्छ । शित भण्डारण गृह संचालनमा आएसँगै अहिले कृषकले उत्पादन गरेको वस्तु छोटो समयमै कम मूल्य लिएर विक्रि गर्नुपर्ने बाध्यता समेत हटेको छ ।

यहाँ भण्डारण गरिएको फलफूल तथा तरकारी हटिया, खर्वाङ, बुर्तिबाङ, गुल्मी तथा बागलुङ सदरमुकामसम्म समेत पुग्ने गरेको छ । भण्डारण गृह संचालनमा आएसँगै सहज पहुँच पुगेको स्थानीय जनप्रतिनिधिको अनुभव छ ।

बागलुङमा उत्पादन भएको सुन्तला, ताराखोलाको आलु र मुस्ताङको स्याउ उपभोक्ताले मन पराएका छन् । बागलुङ जिल्लामा हाल आठवटा कोल्डस्टोर संचालनमा छन् । तर, ती कोल्डस्टोरले सबै किसानको उत्पादन भण्डारण गर्न सकिरहेका छैनन् । ठूलो क्षमताको कोल्डस्टोर संचालनमा आएपछि कृषक र उपभोक्ता दुवै लाभान्वित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *