कोरोनाले सुनसान छन् सुनसरीका पर्यटकीय क्षेत्र (भिडियो रिपोर्टसहित)

१६ माघ २०७८ सुनसरी । कोरोना भाइरसको तेस्रो लहर तीब्र रुपमा फैलँदै जाँदा सुनसरीका पर्यटकीय क्षेत्रहरु सुनसान बन्न थालेका छन् ।
सरकारी स्वामित्वमा संचालित पर्यटकीय स्थल मात्रै होइन निजी क्षेत्रबाट ठूलो लगानीमा खोलिएका पर्यटकीय स्थल र पर्यटन व्यवसाय पनि मारमा परेका छन् ।
कोशी टप्पु वन्यजन्तु आरक्षसमेत रहेको सुनसरीमा निजी तथा सरकारी स्वामित्वका धेरै पर्यटकीय क्षेत्र रहेका छन् । कोरोना प्रभावपूर्व यी पर्यटकीय क्षेत्रमा नेपालबाट मात्रै नभएर भारत तथा अन्य देशबाट पनि पर्यटक आउने गर्दथे । तर, कोरोना संक्रमणको तेस्रो लहर फैलँदै गर्दा यी पर्यटकीय क्षेत्र सुनसान बन्दै गएका छन् ।
कोरोनाको दोस्रो लहर पश्चात आफ्नो व्यवसाय सामान्य अवस्थामा फर्किने आशामा रहेका पर्यटन व्यवसायीलाई कोरोनाको फैलँदो तेस्रो लहरले पुनः निराश बनाएको छ ।
निजी रुपमा संचालित पर्यटकीय क्षेत्रबाट आम्दानी नहुँदा पनि निरन्तर बैंक ऋण र व्याज तिर्नुपर्दा व्यवसायी समस्यामा परेका छन् । कोरोना महामारीको समयमा सरकारले दिने भनेको सहुलियत पनि आफूहरुले नपाएको व्यवसायीको गुनासो छ ।
सुनसरीका पर्यटन व्यवसायी कोरोनाको प्रभाव कहिले कम होला र आफ्नो व्यवसाय पूर्ण रुपमा संचालन गर्न सकिएला भन्ने प्रतिक्षामा छन् । अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटन व्यवसायलाई स्थायित्वका लागि सम्बन्धित निकाय गम्भिर हुनु आवश्यक देखिन्छ ।
प्रतिक्रिया