एपीएफले जित्यो आहा रारा गोल्डकपको उपाधि, पेनाल्टीमा मनाङ ५–४ गोलले पराजित
![एपीएफले जित्यो आहा रारा गोल्डकपको उपाधि, पेनाल्टीमा मनाङ ५–४ गोलले पराजित](https://www.himalayatv.com/wp-content/uploads/2022/01/aha-rara-1.jpg)
१५ माघ २०७८ पोखरा । २० औं संस्करणको आहा रारा गोल्डकप फूटबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ ।
पोखरा रंगशालामा आज सम्पन्न फाइनलमा सर्वाधिक सफल ६ पटक उपाधि विजेता मनाङ मर्स्याङ्दी क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराउँदै एपिएफले पहिलो आहा रारा गोल्डकप जितेको हो ।
पेनाल्टीमा एपीएफका नवीन लामा, सनिश श्रेष्ठ, रबि थिङ, मणि लामा र अर्मान्डले गोल गरे । मनाङका लागि फ्रेङ्कलिन टाला, दयानन्द सिंह, शिव गुरुङ, रुपेश केसीले गोल गर्दा ओलावाले आफिजको प्रहार एपीएफका जापानी गोलकिपर युया कुरियामाले रोके ।
निर्धारित र अतिरिक्त समय २–२ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको थियो । खेलमा एपीएफले सुरुवाती अग्रता लियो ।
२० औं मिनेटमा युवराज खड्काको गोलबाट एपीएफले अग्रता लियो । तर दोस्रो हाफमा मनाङ खेलमा फर्कियो । तुलनात्मक रुपमा सुधारिएको प्रदर्शन गरेको मनाङले ६७ औं मिनेटमा दयानन्द सिंहको गोलसँग खेल बराबरी गर्यो ।
प्रतिस्पर्धात्मक खेलको ८४ औं मिनेटमा फ्रेङ्कलिन टालाले मनाङलाई २९१ को अग्रता दिलाए । तर इन्जुरी समयको पहिलो मिनेटमै रवि थिङले हेडरमा गोल गर्दै पुन एपीएफलाई खेलमा फर्काए । २–२ गोलको बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा दुवै टोलीबाट कुनै गोल हुन सकेन् ।
प्रतिक्रिया