समाज

ज्यान हत्केलामा राखेर सुरुङभित्र काम गर्न बाध्य मजदुर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १५ गते १६:२०
ज्यान हत्केलामा राखेर सुरुङभित्र काम गर्न बाध्य मजदुर (भिडियो रिपोर्टसहित)

१५ माघ २०७८ रोल्पा । जीवन नै हत्केलामा राखेर कोइलाखानीमा विना सुरक्षा सावधानी दाङका मजदुरले काम गर्ने गरेका छन् । मजदुरहरुले ५० देखि ५ सय मिटर जमिनभित्र सुरुङ खनेर कोइला निकाल्ने गर्छन् ।

सुरुङभित्र कति बेला के हुन्छ थाहा छैन । कतिले त कोइला निकाल्ने क्रममा ज्यान गुमाएका छन् । दाङमा २६ वर्षदेखि कोइला निकाल्न थालिएको हो । हेरौं कसरी निकालिन्छ त जमिन भित्रबाट कोइला ?

रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ सिउधारा रोल्पाका शेरबहादुर पुनले २६ वर्षदेखि निरन्तर जमिन खनेर कोइला निकाल्ने काम गरिरहनु भएको छ । मनमा ठूलो डर बोकेर विहानै कोइलाखानीको सुरुङमा भित्र पस्नुहुन्छ। खानीभित्रको काम जोखिमपूर्ण भए पनि जीवन चलाउन नगरी नहुने बाध्यता छ, पुनलाई ।

घोराही उपमहानगरपालिका १२ भलडाँडाका भक्तबहादुर घर्तीसहित २ छोराहरु पनि कोइलाखानीमा काम गरिरहनु भएको छ । कोइलाखानी भित्रको काम निकै जोखिमपूर्ण हुन्छ । तर, जीवन हत्केलामा राखेर हरेक दिन मजदुरहरू सुरुङभित्र पस्छन् ।

जोखिमका बीच पनि हरेक दिन खानी भित्र पस्ने र कोइला निकाल्ने क्रम चलिरहन्छ । १ क्विन्टल कोइला निकाल्दा १ सय ४० रुपैँया कमाइ हुन्छ । बोक्नेले १ क्विन्टलको ७० रुपैयाँ पाउँछन् । एक दिनमा एक जनाले ८ देखि १० क्विन्टलसम्म कोइला निकाल्ने गरेका छन् ।

सुरुङभित्र विभिन्न बाटो हुने भएकाले मूल सुरुङबाट पसिसकेपछि भित्र कामदारहरु आआफ्नो बाटोमा लाग्छन् । माथिल्लो भागको ढुंगा माटो रोक्ने कुनै उपाय छैन् । कतैकतै काठको टेको लगाइएको हुन्छ । तर, यसले छेक्ने सम्भावना न्युन हुन्छ । कतै बोरा राखेर अड्याइएको हुन्छ । सुरुङभित्र पानी जमेर पनि कोइला निकाल्न समस्या हुन्छ । मंसिरदेखि असारसम्म कोइलाखानीमा काम हुन्छ ।

सुरुङबाट बाँचेर फर्किने आशा हुन्छ, भरोसा हुँदैन । घर परिवारलाई पनि बिहान गएको मानिस बेलुका फर्केर आउँछ कि आउँदैन भन्ने द्विविधा हुन्छ । १० वर्षको अवधिमा खानीमा ६ जनाको मृत्यु भइसकेको छ । धेरै घाइते भएका छन् ।

दाङको राम्चे, तोस, बोक्सिनीभीर, ठाडा, ज्यामुरे, भुल्के लगायतका १२ ठाउँमा कोइलाखानी छन् । एउटा खानीमा २० देखि ३० जनाले कोइला निकाल्ने र करिव ४० जनाले बोक्ने काम गरिरहेका छन् ।

राम्रो गुणस्तरको कोइला विद्युत् निकाल्न, खानापकाउन र विभिन्न उद्योगमा इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ । दाङमा पाँच वटा कम्पनीले कोइला उत्खनन गरिरहेका छन । वार्षिक साढे पाँच हजार मेट्रिक टन कोइला उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *