कन्या कलेजमा अझै किन शुरु भएन पठनपाठन ? (भिडियो रिपोर्टसहित)
१५ माघ २०७८ बाँके । नेपालगन्ज उपमहानगरपालिकाले मुस्लिम र मधेशी समुदायका छात्राहरुको शिक्षामा पहुँच बढाउने उद्देश्यले निर्माण गरेको कन्या कलेजमा पठनपाठन अझै शुरु हुन सकेको छैन ।
बिएस्सी, बिएड, बिबिए र एलएलबी तहको पढाईका लागि मध्यपश्चिम विश्वविद्यालयमा आवेदन दिएको एक वर्ष भइसक्दा पनि सम्बन्धन नपाउँदा संचालनमा ढिलाइ भएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाले कन्या कलेजका लागि करिब १० करोडको लागतमा ४२ कोठासहितको भौतिक संरचना निर्माण गरिसकेको छ । कलेज संचालनका लागि वार्षिक ५० लाख बजेटको पनि सुनिश्चिता गरिसकेको छ । तर सम्बन्धन नपाउँदा कलेज सञ्चालन अन्योलमा छ ।
मध्यपश्चिम विश्वविद्यालयकै प्राध्यापक र विद्यार्थी संगठनहरुले विश्वविद्यालयकै १० वटा आंगिक र सम्बन्धन पाएको एउटा क्याम्पस समेत व्यवस्थित बनाउन नसकेको भन्दै अरु क्याम्पसलाई सम्बन्धन दिन रोकिरहेका छन् । जसका कारण मुस्लिम र मधेशी समुदायका छोरीहरु उच्च शिक्षाबाट बञ्चित भइरहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा मदरसासहित ३९ वटा विद्यालय भए पनि कन्या विद्यालय भने २ वटा मात्रै छन् । कन्या विद्यालय भएका कारण कक्षा १२ सम्म पढ्ने अवसर पाएका छन् ।
मधेशी र मुस्लिम समुदायको बाहुल्यता रहेको नेपालगञ्जमा पछिल्लो समय छोरीलाई पढाउने चलन बढ्दै गएको छ । तर, मध्यपश्चिम विश्वविद्यालयको अकर्यमण्यताका कारण मधेशी र मुस्लिम समूदायका छोरीले उच्च शिक्षा नपाउनु दुःखद् हो ।
प्रतिक्रिया