समाज

एकीकृत सन्थाल वस्ती : तामझामका साथ शिलान्यास, प्रगति भने शून्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १५ गते १५:००
एकीकृत सन्थाल वस्ती : तामझामका साथ शिलान्यास, प्रगति भने शून्य (भिडियो रिपोर्टसहित)

१५ माघ २०७८ विराटनगर । सरकारले अति निम्न आर्थिक अवस्था भएका सन्थाल जातिका लागि मोरङको उर्लाबारीमा एक वर्षअघि एकीकृत सन्थाल वस्ती निर्माण गर्ने योजना अघि सारेको थियो ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १८ गते तामझामका साथ सन्थाल वस्तीको शिलान्याससमेत गर्नुभयो । तर एकीकृत सन्थाल वस्ती निर्माणको काम अलपत्र परेको छ ।

मोरङमा एकीकृत सन्थाल वस्तीमा १ सय ३२ घर निर्माण गर्ने गरी कार्यक्रम अगाडि बढाइएको थियो । जसमा १ सय ६ घर सन्थालको र २६ घर उराउ जातिको लागि निर्माण गर्ने जनाइएको थियो ।

तर घर बनाउनका लागि ठेक्का लागेको ६ महिना बित्दासमेत अहिलेसम्म घर निर्माणको कामले गति लिन सकेको छैन। नयाँ घर पाउने आशमा बसेका सन्थाल समुदाय यो सालको जाडो पनि आफ्नै झुप्रामा कटाउन बाध्य छन् ।

२०७४ सालमा बक्राहा खोलामा बाढी आएपछि धेरै सन्थाल परिवार विस्थापित भएका थिए । केही परिवार भने अहिले पनि खोलाको किनारमा छन् । निर्माणस्थल रातो होलीको उत्तर–दक्षिण फैलिएको जग्गामध्ये ३१ हजार सात सय ६८ वर्ग मिटरभित्र वस्ती विकास गर्ने गरी संघीय इकाई कार्यालयले काम अगाडि बढाएको थियो । तर जग्गा विवाद नै समाधान भएन ।

सरकारले विकास निर्माणमा जग्गाको समस्या हल नगरी हतारैमा शिलान्यास गर्ने धेरै उदाहरणहरु छन्। ती उदाहरणमा एकीकृत सन्थाल वस्ती निर्माणको योजना पनि थपिएको छ ।

यसै पनि लोपोन्मुख जातिका रुपमा रहेको संन्थाल जातिलाई दलहरुले भोट बैंकका रुपमा मात्रै प्रयोग गरिरहँदा समस्या समाधान हुन नसकेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *