डोटीको बडीकेदार गाउँपालिकाः नागरिकका आँगनमै शुद्ध पानी (भिडियो रिपोर्टसहित)
१२ माघ २०७८ डोटी । डोटीको बडीकेदार गाउँपालिकाका स्थानीयलाई घण्टौंसम्म हिँडेर खानेपानीको जोहो गर्नुपर्ने बाध्यता हटेको छ । खानेपानीका लागि निकै दुःख कष्ट भौग्दै आएका नागरिकका आँगनमै शुद्ध पानी पुर्याइएको छ ।
बडीकेदार गाउँपालिका डोटीको दुर्गम क्षेत्र हो । पूर्वाधारमा पनि निकै पछि रहेको बडीकेदार सुख्खा डाँडामा अवस्थित गाउँ थियो । यहाँका नागरिक स्वच्छ खानेपानीबाट त बञ्चित थिए नै त्योसँगै पानी अभावकै कारण खुला रुपमा दिसापिसाब गर्नपनि बाध्य थिए ।
त्यसैले विगतमा अशुद्ध पानीका कारण लाग्ने रोगकै कारण कयौं मानिसले अकालमा ज्यान गुमाउनु पर्थ्यो । अहिले घर दैलोमै शुद्ध पानी आएपछि रोग पनि कम भएका छन् ।
ग्रामीण जलश्रोत परियोजना लागू भएपछि शुद्ध खानेपानीसँगै सरसफाइमा पनि सुधार आएको हो । यो परियोजनाअन्तर्गत खानेपानीसँगै सिंचाइको सुविधासमेत उपलब्ध गराइएको छ । हाल यहाँका महिला तथा किसानहरु आत्मनिर्भर बन्न थालेका छन् ।
पर्याप्त पानी उपलब्ध भएपछि स्थानीयले सरसफाइमा पनि ध्यान दिन थालेका छन् । ढिलै भएपनि स्थानीय सरकार र विभिन्न गैर सरकारी संस्थाको सहकार्यमा स्थानीयले शुद्ध खानेपानीको पाएका छन् ।
तर अझै पनि यस्ता थुप्रै गाउँ छन् जहाँका नागरिक शुद्ध पानीकै अभावमा छटपटाइरहेका छन् र अशुद्ध पानीका कारण ज्यान गुमाइरहेका छन् । शुद्ध पानी दिलाउनु प्राथमिक दायित्वबोध गरेर राज्यले आफ्नो उपस्थिती जनाउनु जरुरी छ ।
प्रतिक्रिया