समाज

‘घुम्टे साँइला’ भाका गाउँदै होम स्टेको बसाई (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १२ गते १४:३०
‘घुम्टे साँइला’ भाका गाउँदै होम स्टेको बसाई (भिडियो रिपोर्टसहित)

१२ माघ २०७८ बागलुङ । पर्यटन प्रवर्द्धन गर्दै स्थानीय उत्पादनको खपतका लागि होमस्टे प्रभावकारी बन्दै आएको छ । सानो व्यवसाय भए पनि यसले नेपाली मौलिक परम्परा र संस्कृति जोगाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

नेपाली मौलिक परम्पराको खानी बागलुङमा संचालित होमस्टेले लोपोन्मुख ‘घुम्टे साँइला’ लोक भाकाको जगेर्ना गरिरहेको छ ।

बागलुङलाई लोक संस्कृतिको खानी मानिन्छ । विशेषतः सोरठी, सालैजो, ठाडो भाका, यानीमाया, सुनिमाया यहाँका विशेषता हुन् । घुम्टे साँइला पनि अर्को एक भाका हो, जसलाई बागलुङका बासिन्दाले जोगाइराखेका छन् र विभिन्न स्थानमा संचालित होमस्टेले यसको संरक्षणमा महत्वपूर्ण योगदान दिइरहेको छ ।

गल्कोट नगरपालिका वडा नम्बर १० पाण्डवखानीका मगर समुदायले वैशाख पूर्णिमाको दिन यो भाका गाउने गर्दछन् । मगर समुदायले ‘घुम्टे साँइला’ भाका गाउँदै त्यही क्षेत्रको घुम्टे लेक पुग्ने र लेक पुगेर फर्केपछि केही समयसम्म पनि यो भाका गाउने, नाच्ने र रमाइलो गर्ने चलन छ ।

यो भाकालाई संरक्षण गर्ने उद्देश्यले गल्कोट नगरपालिका वडा नम्बर २ को तोरीखोला होमस्टेमा जाने पाहुनालाई सुनाइन्छ । पाहुनाले यो भाकालाई अत्यधिक रुचाउने गरेको होमस्टे संचालकको अनुभव छ ।

होमस्टेका कारण तोरीखोलामा पर्यटकको संख्या बढ्दै गएको छ । पहिले घरको काम र वैदेशिक रोजगारीमा मात्र सीमित महिलाले अहिले आफैं होमस्टे संचालन गरेका छन् । गाउँमै स्वरोजगार सिर्जना भएसँगै होमस्टे संचालक अहिले खुसी छन् ।

होमस्टे संचालनका लागि विभिन्न स्थानीय तहले सहयोग पनि गरिरहेका छन् । स्थानीय उत्पादन, कला, संस्कृतिलाई पर्यटकसँग जोड्न होमस्टेको भूमिका महत्वपूर्ण छ । यसलाई अझ व्यवस्थित गर्न सके र प्रचार प्रसारलाई व्यापक बनाउन सके संस्कृति संरक्षणसँगै स्थानीयको जीवनस्तर पनि उकास्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *