समाज

कोरोनाको तेस्रो लहर : लुम्बिनीका १४ अस्पताल नेतृत्वविहीन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ११ गते १७:१६
कोरोनाको तेस्रो लहर : लुम्बिनीका १४ अस्पताल नेतृत्वविहीन (भिडियो रिपोर्टसहित)

११ माघ २०७८ बुटवल । कोरोना महामारीको तेस्रो लहरसँगै अस्पतालका शैयाहरु भरिन थालेका छन् । ठूलो संख्यामा स्वास्थ्यकर्मी पनि संक्रमित छन् ।

जसका कारण स्वास्थ्य संस्थाहरुमा जनशक्तिको अभाव हुने अवस्था आएको छ । महामारीको यो समयमा लुम्बिनी प्रदेशका १४ अस्पताल भने नेतृत्वविहीन छन् ।

लुम्बिनी प्रदेशका सबैजसो अस्पतालमा कोरोना संक्रमितको चाप बढिरहेको छ । प्रादेशिक अस्पतालमा कोरोना संक्रमितका लागि छुट्याइएका ६० बेड भरिएका छन् । नयाँ संक्रमित राख्ने ठाउँ छैन । यस्तो अवस्थामा लुम्बिनी प्रदेशका प्रादेशिक तथा जिल्ला अस्पताल भने पदाधिकारीविहीन छन् ।

सिमानाकामा एन्टिजेन परीक्षण र आवतजावतमा कडाइ हुन नसक्दा संक्रमितसमेत सिधै घर जाने गरेका छन् । संक्रमितलाई आइसोलशनमा राख्ने व्यवस्था छैन । हेल्थ डेस्कमा कार्यरत कर्मचारी नै संक्रमित भएपछि स्वास्थ्य परीक्षण समेत प्रभावकारी छैन । नाका र अस्पतालमा जनशक्ति अभाव छ । यसको व्यवस्थापनमा सरकारले खासै ध्यान दिएको छैन ।

यसअघिका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्व सरकारले अस्पतालहरुमा तीन वर्षका लागि अस्पताल विकास समिति अध्यक्ष तथा सदस्यहरु नियुक्त गरेको थियो । नयाँ सरकार बनेसंगै आठ महिनामै सबै अध्यक्ष तथा पदाधिकारी सरकारले हटाएको हो ।

अस्पतालहरु नेतृत्वविहीन भएपनि उपचारमा कमी हुन नदिने सरकारको दाबी छ । तर विपक्षी दलले भने संक्रमण रोकथाम गर्ने समयमा अस्पतालहरुलाई नेतृत्वविहीन बनाउनु नागरिकको स्वास्थ्यमाथिको खेलवाड भएको आरोप लगाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *