समाज

ठेकेदारको लापरवाहीका कारण ९ वर्षदेखि अलपत्र पुल

हिमालय टिभी
२०७८ माघ १० गते १८:३१
ठेकेदारको लापरवाहीका कारण ९ वर्षदेखि अलपत्र पुल

१० माघ २०७८ सुर्खेत । कर्णाली प्रदेश र लुम्बिनी प्रदेश जोड्ने सबैभन्दा छोटो दूरीको तेलपानी भुरीगाउँ सडक खण्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २ रानिघाट स्थित भेरी नदीमा ९ वर्षदेखि पुल अलपत्र परेको छ । तीन वर्षमा निर्माण सक्नुपर्ने पुल ठेकेदारको लापरवाहीका कारण ९ वर्षसम्म पनि बनेको छैन ।

सडक डिभिजन कार्यालय सुर्खेत र निर्माण व्यवसायी पप्पु मल्ल जेभी कन्स्ट्रक्सनबीच २०६९ साल असार १८ गते १४ करोड २९ लाख ८९ हजार रुपैयाँमा रानीघाट पुल निर्माणको सम्झौता भएको थियो ।

सुर्खेतदेखि बर्दिया पुग्ने सबैभन्दा छोटो दूरीको सडकभित्र पर्ने पुल समयमा नै निर्माण सम्पन्न नहुँदा सडक विस्तारको कामसमेत हुन सकेको छैन । नदीको वारीपारी एकएक वटा पिल्लर तथा बीचमा १ गरी जम्मा ३ वटा पिल्लरहरु निर्माण गरिएको छ । निर्माणको जिम्मा पाएको ठेकेदारले भने विभिन्न बाहाना बनाउँदै पुल निर्माण अलपत्र छाडेपछि स्थानीयले दबाब बढाएका छन् ।

पुल समयमा नै नबन्दा स्थानीयलाई निकै सकस भएको छ । २ घण्टामा सदरमुकाम वीरेन्द्रनगर पुग्न सकिने भेरी नदीमा पुल नहुँदा ४ घण्टा भन्दा धेरै समय लाग्ने गरेको छ । निर्माण हुँदै गरेको पुल ठेकेदारले बीचैमा छोडेर गएपछि स्थानीयहरूले बारम्बार लिखितरुपमा पुल निर्माणको माग गर्दै सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउँदै आएका छन् । तर तीनै तहका सरकार भने ठेकेदारको गल्ती भएको भन्दै सधैं पन्छिने गरेका छन ।

नदीको बीचमा पिल्लर बस्ने स्थानमा कडा चट्टान भएको भन्दै ठेकेदार पक्षले पुलको डिजाइन नै फेर्नु पर्ने बताउँदै आएको थियो । सडक डिभिजन कार्यालय सुर्खेत पनि ठेकेदारलाई रि–डिजाइन दिन तयार भएको छ । समयमा नै काम सम्पन्न हुनुपर्ने ताकेता गरे पनि अहिलेसम्म निर्माण व्यवसायी भने सम्पर्कमा आएका छैनन् ।

निर्माण व्यवसायीका कारण समयमा नै पुल निर्माण हुन नसक्दा भेरी नदी पारीका ४ वडाका बासिन्दाहरु सधै जोखिम मोल्न बाध्य छन् । पुल समयमा नै निर्माण नगरे आन्दोलनमा समेत उत्रिने स्थानिय बासिन्दाले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *