आर्थिक

६ महिनामा १० खर्बको आयात, ८ खर्ब ८० अर्ब व्यापार घाटा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ९ गते १८:४४
६ महिनामा १० खर्बको आयात, ८ खर्ब ८० अर्ब व्यापार घाटा (भिडियो रिपोर्टसहित)

९ माघ २०७८ काठमाडौं । उच्च आयात र घट्दो रेमिट्यान्सले अर्थतन्त्रमा दबाब उत्पन्न भएपछि नेपाल राष्ट्र बैंकले आयातमा अंकुश लगाएको छ । तर, आयातमा लगाइएको अंकुशको प्रभाव खासै परेको छैन ।

चालू आर्थिक वर्षको ६ महिनामा करिब १० खर्ब रुपैयाँको बस्तु तथा सेवाको आयात भएको छ । सो अवधीमा निर्यात भने सवा १ खर्बको मात्र भएको छ । पुस महिनामा मात्रै १ खर्ब ६१ अर्बको आयात भएको छ । यही अनुपातमा आयात हुने हो भने यो वर्ष आयात २० खर्ब पुग्ने अनुमान छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँको बस्तु आयात भएको छ । सो अवधिमा १ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको बस्तु निर्यात भएको छ।

यो तथ्यांक अनुसार ६ महिनामा मुलुकले करिब ८ खर्ब ८० अर्ब ५९ करोड रुपैयाँको व्यापार घाटा व्यहोरेको छ। आयातमा गत वर्षको सोही अवधीको तुलनामा ५१ प्रतिशतको वृद्धि छ भने निर्यातमा ९५ प्रतिशतको वृद्धि छ । व्यापार घाटा पनि ४६ प्रतिशतले बढेको छ ।

जबकी गत आर्थिक वर्ष २०७७–०७८ को ६ महिनामा ६ खर्ब ६१ अर्ब रुपैयाँको आयात भएको थियो भने निर्यात ६० अर्ब ७९ करोड रुपैयाँ मात्रै थियो । अघिल्लो आर्थिक वर्ष २०७६–०७७ को ६ महिनामा पनि आयात ६ खर्ब ९४ अर्ब रुपैयाँ मात्रैको भएको थियो ।

निर्यात सो अवधीमा ५७ अर्ब २७ करोड रुपैयाँको मात्र थियो । आर्थिक वर्ष २०७५–०७६ को ६ महिनामा त आयात ५ खर्ब ५४ अर्ब रुपैयाँमा सिमित थियो भने निर्यात पनि ४१ अर्ब १६ करोड रुपैयाँको मात्र भएको थियो । अघिल्ला तीन आर्थिक वर्षको अर्धबार्षिक तुलनामा चालू आर्थिक वर्षको आयात निकै उच्च हो ।

आयातमा उच्च वृद्धि भएपछि नेपाल राष्ट्र बैंकले पुस पहिलो साता अघि सुनचाँदी, चिनी, मदिरा, गाडी लगायतका बस्तुको आयातमा कडाइ रहेको छ । तर पुस महिनामा मात्रै १ खर्ब ६१ अर्ब रुपैयाँको आयात भएको छ । यही रफ्तारमा आयात हुने हो भने यो वर्ष आयातले नयाँ रेकर्ड कायम गर्ने निश्चित छ ।

गत आर्थिक वर्षमा १५ खर्ब ३९ अर्ब रुपैयाँको मात्र आयात भएको थियो । चालू वर्ष आयात निकै उच्च रुपमा बढीरहेको छ भने रेमिट्यान्स घटिरहेको छ । नेपालले विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत रेमिट्यान्स र पर्यटन हो । पर्यटन क्षेत्र कोरोनाले शिथिल छ । यो अवस्थामा आयात उच्च रुपले बढ्नु मुलुकका लागि चिन्ताको विषय हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *