समाज

मकवानपुरमा टोल–टोलमा कोरोनाविरुद्धको खोप अभियान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ९ गते १४:१०
मकवानपुरमा टोल–टोलमा कोरोनाविरुद्धको खोप अभियान (भिडियो रिपोर्टसहित)

९ माघ २०७८ मकवानपुर । मकवानपुरको केही स्थानीय तहमा कोरोनाविरुद्धको खोप अभियान सुस्त पाइएपछि बागमती प्रदेश सरकारले टोलमै पुगेर खोप लगाउने अभियान शुरु गरेको छ ।

चेपाङ बाहुल क्षेत्र राक्सिराङ र कैलाश गाउँपालिकामा खोप अभियान लक्ष्यभन्दा कम पाइएपछि टोलमै पुगेर खोप लगाउने अभियान थालिएको हो ।

खोपप्रतिको गलत प्रचार, अन्धविश्वास र खोप केन्द्र टाढा हुँदा मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा खोप लगाउनेको संख्या कम छ । गाउँमै खोप अभियान पुगेपछि यसअघि खोप नलगाई बसेका चेपाङ समुदाय खोप अभियानमा सहभागी भए ।

भौगोलिक विकटताका कारण नागरिकहरु खोप अभियानमा सहभागी भएका थिएनन् । त्यसैले प्रदेश सरकारले घर दैलोमै पुगेर खोप अभियान चलाएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले पनि सबै इकाईका स्वास्थ्य प्राविधिक र स्वयंसेविका परिचालन गरी टोलटोलमै कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ । विगतमा खोप लगाउन बेवास्ता गरेका स्थानीय चेपाङ र तामाङ समूदायको गाउँमै खोप लगाउने अभियान शुरु भएपछि सहभागिता बढेको छ ।

बागमती प्रदेश सरकारले कोरोनाविरुद्धको खोप लगाउने दर कम भएका स्थानीय तहलाई लक्षित गरेर चोक, चौतारा, पाटीपौवा, मठमन्दिर, गुम्बा, चर्च, टोल विकास संस्थाजस्ता स्थानीयको बढी उपस्थित हुने स्थानमै खोप अभियान संचालन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *