समाज

‘सिंगो बुटवल, एक विद्यालय’ अवधारणा कसरी होला कार्यान्वयन ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ८ गते १८:१९
‘सिंगो बुटवल, एक विद्यालय’ अवधारणा कसरी होला कार्यान्वयन ? (भिडियो रिपोर्टसहित)

८ माघ २०७८ बुटवल । बुटवल उपमहानगरपालिकाले “सिंगो बुटवल, एक विद्यालय” अवधारणा कार्यान्वयन शुरु गरेको छ । २०७४ सालमै नगर शिक्षा ऐन लागू गरेको उपमहानगरपालिकामा यो अवधारणा कार्यान्वयन भए बुटवल शैक्षिक क्षेत्रमा नमूना बन्ने दाबी गरिएको छ ।

बुटवल उपमहानगरपालिकाले नगरभित्रका सामूदायिक विद्यालयहरुको समान शैक्षिकस्तर स्थापित गर्न सिंगो बुटवल, एक विद्यालय अवधारणा ल्याएको हो ।

सबै सामुदायिक विद्यालयमा शिक्षाको समानस्तर कायम गरी विद्यार्थीलाई नजिकैको विद्यालयमा अध्ययन गर्ने वातावरण तयार गर्न यस्तो अवधारणा ल्याइएको हो । बुटवल भित्रका जुनसुकै सामुदायिक विद्यालयमा अध्ययन गरे पनि शैक्षिकस्तर एउटै हो भन्ने मान्यता स्थापित गर्न सबै विद्यार्थीलाई समान शैक्षिक कृयाकलाप प्रदान गर्ने उपमहानगरपालिकाको लक्ष्य छ ।

बुटवल उपमहानगरपालिका भित्र ३८ वटा सामुदायिक विद्यालय छन् । ती मध्ये आधारभूत १२, माध्यमिक २२, विशेष १ र मदरसा ३ वटा छन् । संस्थागत विद्यालयको संख्या ५७ छ । नगरभित्रका सामूदायिक विद्यालयमा पनि भौतिक पूर्वाधार, सेवा सुविधा, शिक्षक उपलब्धता, शिक्षण विधि, नतिजा, पाठ्यक्रम, शिक्षक विकास र व्यवस्थापन, मूल्यांकन पद्धति, कक्षा सञ्चालन समय तथा बिदामा एकरुपता छैन ।

जसले गर्दा कतिपय विद्यालयमा विद्यार्थीको उच्च उपलब्धि र कुनै विद्यालयमा न्यून उपलब्धि छ । यसले कुनै सामुदायिक विद्यालयमा विद्यार्थीको अत्यधिक चाप र कुनै विद्यालयमा अत्यन्त कम विद्यार्थी हुँदा मर्ज हुने अवस्थामा छन् । सिंगो बुटवलः एक विद्यालय अवधारणा कार्यान्वयनमा गएपछि सबै विद्यालयको भौतिक, आर्थिक, मानवीय प्रशासनिक एवं अन्य प्रकारका साधन स्रोतहरुको उच्चतम प्रयोग भै अपेक्षित नतिजा समेत हासिल गर्न सकिने अपेक्षा छ ।

यो अवधारणा कार्यान्वयनका लागि उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ विनियोजन गरेकोछ । गत आर्थिक वर्ष २०७७–७८ मा शिक्षा कार्यनीतिमा सबै बालबालिकालाई गुणस्तरीय शिक्षाको समान अवसर उपलब्ध गराउने नीति बनाइएको थियो । चालु आर्थिक वर्षको कार्यक्रम कार्यान्वयन योजना र बजेटमा पनि यो विषय समावेश गरिएको हो ।

यो अवधारणामा निश्चित मापदण्डको आधारमा नगर भित्रका सामुदायिक विद्यालयलाई ८ वटा समूहमा विभाजन गरि ति समुहमा पर्ने कमजोर विद्यालयहरुको नेतृत्व शैक्षिक स्तर राम्रो भएको विद्यालयलाई अभिभावक विद्यालयको रुपमा तोकिएको छ ।

अभिभावक विद्यालयले आफ्नो समुहमा रहेका अन्य विद्यालयलाई शैक्षिक, प्राविधिक सहयोग गर्ने, पाठ्यक्रम, शिक्षणप्रक्रियाको सिकाई लगायत नमूना पाठ प्रदर्शन, विद्यार्थी व्यवस्थापन, परामर्श, शिक्षक तथा कर्मचारी नियुक्ति समेतमा सघाउनुपर्ने अवधारणामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *