आर्थिक

सरकारले व्यवसाय सञ्चालन गर्न दिनुपर्ने व्यवसायीको माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ७ गते १७:५०
सरकारले व्यवसाय सञ्चालन गर्न दिनुपर्ने व्यवसायीको माग (भिडियो रिपोर्टसहित)

७ माघ २०७८ काठमाडौं । देशभर कोरोना संक्रमण दर तीव्र गतिमा बढिरहेको छ । संक्रमण दर बढेकै कारण सरकारले सिनेमा हल तथा रात्रिकालीन व्यवसाय, जिमखाना, विद्यालय लगायतका क्षेत्र माघ १५ सम्म बन्द गर्ने निर्णय गरिसकेको छ ।

शुक्रबारदेखि सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गरिएको छ । सवारी साधनमा पनि जोरबिजोर प्रणाली लागू हुँदैछ । यससँगै आत्तिन थालेका व्यवसायीले सरकारले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्ने गरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा मानिसहरुको चहलपहललाई निरुत्साहित गरेको छ । भिडभाड हुने क्षेत्रहरुमा कडाई गरिएको छ भने २५ जना भन्दा बढी जम्मा हुन रोक लगाइएको छ। यो निर्णयले व्यवसायिक क्षेत्र थप प्रभावित हुने देखिएको छ ।

अहिले नै व्यापारिक क्षेत्रहरु सुनसान देखिन थालिसकेको छ । जसका कारण उत्पादित सामानले पनि बजार पाउन छाडिसकेको व्यवसायी बताउँछन् । दैनिक उपभोग्य बाहेकका अन्य सामग्रीको खपत दुई सातायता निकै घटेको छ ।

नेपालमा संचालित उद्योगधन्दामा साना तथा मझौलाको अंश लगभग ८६ प्रतिशत छ । अर्थतन्त्रमा करिब २३ प्रतिशत योगदान छ ।

यसअघिका दुई पटकको लकडाउनको सवैभन्दा ठूलो असर पनि यही क्षेत्रमा परेको देखिन्छ । साना तथा मझौला उद्योग व्यवसाय अधिकांश असंगठित क्षेत्रमा रहेकाले यसमा आश्रित १६ देखि २० लाख मानिस प्रभावित भएका छन् ।

व्यवसायले आफ्नो बाटो लिन लागेका बेला लकडाउन गर्दा थप समस्या आउने अनुमान छ । यसर्थ सरकारले खोपको व्यवस्थापन गरेर संक्रमण नियन्त्रणका लागि लकडाउन वा निषेधाज्ञाको बाटो बन्द गर्नुपर्ने सुझाव निजी क्षेत्रको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *